५ जेष्ठ २०८१, शनिबार

काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी


पूर्णबहादुर खड्का र धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज साँझदेखि शुरु भएको मतगणना केही समयअघि सकिएको हो ।

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २१२१ र गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । आज बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार खड्का र डा. शेखर कोइराला प्यानलका उम्मेदवार गुरुङ विजयी भएका हुन् ।

सभापति देउवा ‘प्यानल’ कै उनले १९०६ मत प्राप्त गरेका छन् । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा. चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।

खड्का र गुरुङ कांग्रेसको इतिहासमा नै पहिलो निर्वाचित उपसभापति हुन् । धनराज गुरुङले विजयकुमार गच्छदारलाई झिनो मतान्तरले पराजित गरेका छन् । उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार २ मतले मात्र पराजित भएका छन् ।

सभापतिमा पराजित डा. शेखर कोइराला प्यानलका चन्द्र भण्डारी र देउवा प्यानलका विजय गच्छादार, प्रकाशमान सिंह प्यानलकी सुजता कोइराला र विमलेन्द्र निधि प्यानलकी दिव्यश्वरी शाह पनि पराजित भएका छन् ।

यसअघि खड्का काँग्रेसका महामन्त्री थिए भने गुरूङ केन्द्रीय सदस्य थिए । देउवा प्यानलका गच्छदार तेस्राे भएका छन् भने शेखर प्यानलकै चन्द्र भण्डारी चाैँथाे भएका छन् । उपसभापति निर्वाचित खड्काले सवभन्दा बढी मत ल्याएका छन् भने शाहले सवभन्दा कम मत ल्याएर पराजित भएकी छन् ।

उपसभापतिको मतगणना तीन स्थानमा भएको थियो । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उनीहरुले उम्मेदवारी दिएका थिए । जम्मा ४७४३ मतदातामध्ये ४६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनःसभापतिमा निर्वाचित भइसकेका छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा हुन लागेको हो । उपसभापति पदको मतपरिणाम आएलगत्तै अन्य पदाधिकारी र केन्द्रीय सदस्य पदको मतगणना शुरु गरिने समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !