२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो


काँग्रेसमा नयाँ नेतृत्वको लागि मतदान शुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भएको मतदान कार्यक्रम सकिएको छ । आज विहान साढे ११ बजेबाट शुरु भएको मतदान सकिएको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार आज बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान मतपत्र तयार नभएपछि साढे ११ बजेमात्रै शुरु भएको थियो । साँझ ५ बजेसम्मको लागि तोकिएको मतदान समय पटक-पटक थपेर राति ११ः३० सम्म पुर्याइएको थियो ।

निर्वाचन समितिका अनुसार शुरुमा सभापतिको मतगणना हुनेछ । राति १ बजेबाट मात्रै सभापतिको मत गणना हुने बताइएको छ । निर्वाचन समितिले मत गणनाको लागि राष्ट्रियसभा गृहमा गणनास्थल तयार पारेको छ ।

काँग्रेस सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार रहेका छन् । सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

बिहान ६ बजेसम्ममा सभापतिको अन्तिम नतिजा आउने बताइएकाे छ । साथै दोस्रो चरणमा क्रमश: पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना गर्ने तयारी गरेको छ । निर्वाचन समितिले पुस ३ गतेभित्र सबै उम्मेदवारको मत परिणाम सार्वजनिक गरिसक्ने योजना रहेको जनाएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका निर्णायक हुनेमा आशावादी छन् । १४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !