२२ बैशाख २०८१, शनिबार

देउवाको रुवावासी : मैले हारेँ भने प्रधानमन्त्रीबाट हटाउछन्, मलाई जिताउनुस्


देउवाको हारगुहार

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापतिमा हारेँमा प्रधानमन्त्रीबाट हटाउन सक्ने सम्भावना भएकोले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिसँग हारगुहार गरेका छन् ।

कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा लुम्बिनी प्रदेशले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले निर्वाचनमा कांग्रेसलाई बलियो बनाउन पनि सभापतिमा जित्नैपर्ने बताए ।

“प्रजातन्त्रलाई बचाउनु पर्नेछ, त्यसैले अहिले पार्टी सभापतिमा जिते भोलि कांग्रेसलाई सबै ठाउँमा जिताउने छु । सभापति जितेमा सरकारलाई पनि हाँकेर लैजान सकिन्छ । सभापति हारेमा प्रधानमन्त्री कमजोर हुन्छ भनेर आलोचना हुन्छ”, प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले लामो सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त प्रजातन्त्रलाई बचाउन र सुदृढ तुल्याउन पनि कांग्रेसले जित्नैपर्ने बताए । आफू निर्वाचित भएमा आगामी राष्ट्रिय निर्वाचनमा कांग्रेसलाई सबै ठाउँमा जिताउने विश्वास दिलाएका छन् ।

उनले भने, “नेपालको इतिहासले पनि प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भएको खण्डमा स्थायित्व हुन्छ भन्ने छ । पार्टीमा झगडा भइरहेको इतिहास तपाईंहरुलाई थाहा नै छ, गिरिजाबाबुसँग कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबीचको झगडा हेर्नुभएको छ, पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा तालमेल मिलेन त्यसैले विगतबाट पाठ सिकेर कांग्रेसको सभापति र प्रधानमन्त्री एउटै बनाउनुपर्छ त्यसका लागि अहिले मौका आएको छ । यो शेरबहादुरको लागि मात्र हैन । यो राष्ट्र र प्रजातन्त्रको कुरा हो ।”

पार्टी बलियो नभए प्रजातन्त्र कमजोर हुने र बलियो पार्टीले मात्रै प्रजातन्त्र बचाउनसक्ने उल्लेख गर्दै देउवाले कांग्रेस भनेको प्रजातन्त्र हो प्रजातन्त्र भनेकै कांग्रेस हो भने । “प्रजातन्त्रमा पार्टी सभापति एउटै भएको खण्डमा देशमा कुनै किसिमको झैझगडा हुँदैन, अहिलेको आवश्यकता हो प्रजातन्त्रलाई बचाएर बलियो सरकार बनाउन पार्टी सभापतिमा जित्नैपर्छ”, उनले भने ।

प्रधानमन्त्री देउवाले आफू पार्टी सभापति भएको खण्डमा अहिलेको सरकार टिकिरहने र राष्ट्रिय निर्वाचन पनि यही सरकारले गर्ने बताउनुभयो । उहाँले भने, “म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ, आफूले सभापतिमा हारेको खण्डमा नैतिकरूपमा बसिरहन मिल्दैन भनेर सबैले हल्ला गर्नेवाला छन्, त्यसैले पनि अहिलेको परिस्थितिमा सभापति जित्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले अहिलेको परिस्थितिमा सबै दलले स्वीकार्नसक्ने वातावरण निर्माणका लागि देउवाको नेतृत्व अपरिहार्य भएको बताए ।

पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टी र देशको राजनीतिलाई सन्तुलित ढङ्गले अघि बढाउन पनि देउवाको नेतृत्व अपरिहार्य भएकाले पार्टी सभापतिमा जित्नैपर्ने आवश्यकता रहेको बताए । कांग्रेस भरत शाहले पार्टीलाई सुदृढ तुल्याई राष्ट्रियतालाई बलियो बनाएर स्वतन्त्र निर्वाचन गराउन सभापतिमा देउवाले जित्नैपर्ने आवश्यकता रहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !