२३ बैशाख २०८१, आइतबार

एक सभापति, एक सह-महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता


युवराज न्यौपाने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै सह-महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मध्याह्न १२.३० बजेसम्म निर्धारण गरिएको थियो ।

अहिलेसम्म सभापतिमा एक र सह-महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसक्नुभएको छ भने अझै केहीको नाम फिर्ता हुनसक्ने बताइएको छ ।

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने ४९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । नाम फिर्ता लिने क्रम समाप्त भएपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने निर्वाचन कार्यक्रम रहेको छ ।

यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !