२४ बैशाख २०८१, सोमबार

कांग्रेसको संस्थापन इतर समूहमा केन्द्रीय सदस्यहरुको बैठक आज बस्दै


कांग्रेसको संस्थापन इतर समूह बैठक

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बैठक आज बस्दैछ । हिजो बसेको बैठक विना निष्कर्ष सकिएपछि आज बिहान ८ बजे सो समूहका सभापतिका आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।

आज बस्न लागेको केन्द्रीय सदस्यहरुको बैठकले सभापतिको उम्मेद्वार बारेमा विकल्प सुझाउने नेताहरुले बताएका छन् । हिजो बुधबार दिनभर भएको छलफलका क्रममा सभापतिको आकांक्षीहरुले दावेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

पार्टीका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा हिजो साँझ बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा विना निष्कर्ष टुङ्गिएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता गुरुराज घिमिरेले उम्मेदवार चयन प्रक्रिया सकारात्मक रहे पनि अन्तिम टुङ्गोमा पुग्न भने नसकिएको बताएका थिए । “भोलि बिहान ८ बजे केन्द्रीय समितिका साथी बसेर साझा उम्मेदवार चयन गर्नेछौँ”, उनले हिजो भने ।

कांग्रेस नेता डा. रामशरण महतले हिजो अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने बताए । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी छन् ।

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफु पछि हट्न तयार रहेको बताउदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले त्यसलाई स्वीकार गर्ने बताउदै आएका छन् ।

घिमिरेले केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा अघि बढ्ने उल्लेख गरे । छलफलका क्रममा कांग्रेस बरिष्ठ नेता पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसके आफुलाई पार्टीबाटै बिदा हुने बताएका थिए । कांग्रेस नेता डा. रामशरण महतले सहमति नभएपछि पौडेलले आफुलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको जानकारी दिए ।

कांग्रेसको १४ औं महाधिवेशन भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनमा नँया नेतृत्वका लागि संस्थापन पक्षले कांग्रेस सभापति शेर बहादुर देउवाका पक्षमा सहमति जुटाएको छ भने संस्थापन इतरसमूहले निष्कर्षमा पुग्न सकेको छैन । कांग्रेस केन्द्रीय समिति बैठक पनि आज बिहीबार बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !