२२ बैशाख २०८१, शनिबार

काँग्रेसको संस्थापन समूहवाट निधि ‘आउट’, बैठकमा देउवाले बोलाएनन्


शेरबहादुर देउवा र विमलेन्द्र निधि

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलवाट काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार छनोटका लागि जारी बैठकमा उपसभापति विमलेन्द्र निधिलाई नबोलाएपछि काँग्रेसको संस्थापन समूहवाट निधि ‘आउट’ भएको प्रष्ट बुझ्न सकिन्छ ।

काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका निधि संस्थापन टीमबाट औपचारिक रुपमै ‘आउट’ भएका हुन् । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे तापनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए ।

देउवा समूह उम्मेदवार छनोटका लागि विहान ९ बजेदेखि बूढानीलकण्ठमा बैठक जारी रहेको छ । निधिनिकट स्रोतका अनुसार आजको बैठकमा भने उनलाई निमन्त्रणा नै नगरिएपछि उनी आफ्नै निवासमा बसिरहेका छन् ।

देउवाले आफू पक्षीय बैठकमा पदाधिकारीका उम्मेदवार र महाधिवेशनको रणनीतिका विषयमा छलफल गरिरहेका छन् । देउवाले उनको पक्षमा पदाधिकारी छनोटका विषयमा छलफल केन्द्रित छ ।

विगतमा नेविसंघमा देउवाको उत्तराधिकारी निधि थिए । २०३६ मा बीपी कोइरालाको प्रस्तावमा निधि नेविसंघका अध्यक्ष भएका थिए । त्यसअघिको कार्यकालमा देउवा अध्यक्ष थिए । झन्डै एक वर्षदेखि चलेको यी दुई नेताबीचको उम्मेदवारी रस्साकसीले शुक्रबारबाट भने अलग बाटो तय गरेको छ ।

यता देउवा पनि निधिलाई नबोलाई आफ्नो टीमको तयारीमा जुटेका छन् । निधिले पनि सार्वजनिक रूपमै उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएका छन् । एउटै वैचारिक लाइन र सहकार्यमा जोडिएको २५ वर्षमा देउवा र निधिको यात्रा अब अलग बनेको छ ।

काँग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा हेरिंदै आएका निधिले स्वयम् आफ्नै काँग्रेस सभापतिमा उम्मेदवार दिने घोषणा गरेसंगै देउवा निधिको सम्वन्धमा चिसोपन शुरु भएको हो । यसअघि देउवालाई साथ दिंदै आएका निधि ४२ वर्षपछि काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहेर सभापति पदको लागि उम्मेदवार दिने घोषणा गरेका थिए ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !