२० बैशाख २०८१, बिहिबार

राप्रपामा कमल थापाको पतन, राजेन्द्र लिङ्देनको उदय


कमल थापा र राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्ष अर्का प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । नेकपा एमालेका अध्यक्षको रुपमा केपी शर्मा ओली र राप्रपाका अध्यक्षको रुपमा राजेन्द्र लिङ्देनसंगै झापा जिल्लाले नेपाली राजनीतिक दलहरुका दुई जना अध्यक्ष पाएको छ ।

राप्रपामा एकछत्र राज गर्दै आएका कमल थापाको पतनसंगै यूवा नेता लिङ्देनको उदय भएको छ । राजनीतिमा आन्तरिक लोकतन्त्रको कुरा गर्दै आएका अन्य दल भन्दा परम्परागत रुपमकै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपाले युवा नेतृत्व पाएको छ । कथित सच्चा लोकतन्त्रवादी र कम्युनिस्ट उदारवादी भन्दा राप्रपाले आफूलाई लोकतान्त्रिक देखाएको छ ।

पटक-पटक विभाजनबाट गुज्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एक राजतन्त्रवादी र हिन्दू राष्ट्रवादी राजनीतिक दल हो । २०५१ सालमा संसदमा १८ प्रतिशत मत प्राप्त गरेर १९ सिट जित्दै तेस्रो ठुलो दल भएर पनि आफ्ना दुई संस्थापक नेतालाई प्रधानमन्त्री बनाउन सफल भएको थियो ।

लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएपछि चर्चाको शिखरमा पुगेका थिए भने अहिले राप्रपामा थापालाई पराजित गरेर फेरि उनी नेपाली राजनीतिकै चर्चाको शिखरमा पुगेका छन् ।

राप्रपाको इतिहासलाई हेर्ने हो भने सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा, कमल थापा हुँदै पहिलो पटक राप्रपाको नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको छ । नेपाली राजनीतिमा यूवाले नेतृत्व गर्नुपर्छ भनेर उठ्दै आएको आवाज पहिलोपटक राप्रपामा सम्बोधन हुनु सुखद पक्ष हो ।

कमल थापाजस्तो बलियो राजनीतिज्ञलाई अध्यक्ष पराजित गरेका पाँचथरको अमरपुरमा जन्मिएका लिङ्देनलाई पाथीभरा माताको आशिर्वाद प्राप्त भएको छ । राप्रपामा लिङ्देनको उदय र थापाको पतनपछि अव पार्टीको भविश्य के हुन्छ भन्ने विषयमा बहस शुरु भने भएको छ ।

राप्रपाको नेतृत्व युवा पुस्तामा निर्वाचनमार्फत हस्तान्तरण हुनुको साथै राजसंस्था र हिन्दु राष्ट्रको वकालत गर्दै आएपनि पहिलो पटक किराँत धर्म मान्ने गैर हिन्दु लिङ्देनको काँधमा राप्रपाको विरासत आगामी चार वर्षे पुगेको छ । यद्यपि राप्रपाका निर्वाचित सबै नेताहरु हिन्दु धर्ममा विश्वास गर्ने गर्छन् ।

पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप समेत लगाएका छन् । अध्यक्ष पदमा पराजित भएपछि थापाले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । सो एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रुपमा समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।

तर उनले पराजयलाई सहर्ष स्वीकार गर्ने भने बताएका छन् । आखिर किन निर्मल निवासले राप्रपामा नयाँ नेतृत्व खोज्न बाध्य भयो त ? यो प्रश्नको उत्तर सहज छैन तर यसभित्र लुकेको कारण भने थापाकै दोहोरो चरित्र रहेको बुझ्न गार्हो छैन ।

२०३६ सालमा एकैसाथ राजनीति गरेका राप्रपाका यी दुई नेता संयोगले २०७८ सालमा अध्यक्ष पदको लागि पुन: प्रतिस्पर्धीको रणभूमिमा उत्रिएदा थापा पराजित भए भने लिङ्देन विजयी भए । कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष भएका बेला सोही संगठनबाट लिङ्देनले राजनीति प्रारम्भ गरेका थिए ।

पाँचौ पटक बिभाजन भएको राप्रपा चार पटक जोडिएको छ । पञ्चहरुको व्यक्तित्वको टकराव नै राप्रपा बिभाजनको मूल चुरो थियो भने शक्ति क्षय हुदाँ दल चलाउन र धान्न मुश्किल पर्नु नै एकताको पहिलो र महत्वपूर्ण कारण देखिएको छ ।

लिङ्देनलाई निवर्तमान पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अप्रत्यक्ष र अर्का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अप्रत्यक्ष समर्थन थियो । तर पछिल्लो समय कमल थापालाई हिन्दू राष्ट्र र राजतन्त्रको नारालाई राम्ररी बोक्न नसकेको आरोप लगेर पनि पूर्वराजा ज्ञानेन्द्र शाहले अध्यक्षका लागि लिङ्देनलाई ‘ग्रिनसिग्नल’ दिएका थिए ।

थापाले नेतृत्व गर्न नसकेको र पार्टीको एजेण्डा स्थापित गर्न सक्रिय भूमिका नखेलेको भन्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । थापालाई राप्रपाको एकता लामो समय नटिकाएको र देशको एउटा मान्यता प्राप्त पार्टी बनाउन पनि अग्रणी भूमिका नखेलेको आरोप लागेको थियो । हिन्दू राष्ट्र र राजसंस्था सबै नागरिकको मुद्दा बनेपनि थापाको नेतृत्व हुँदा पार्टी बेपत्ता भएको लिङ्देनले उद्घाटन सत्रमा आरोप लगाएका थिए ।

२०७४ को संघीय र प्रदेशसभा चुनावमा खसेको मतको ३ प्रतिशत मत प्राप्त गर्न नसकेर राष्ट्रिय पार्टी बन्ने अवसर गुमाएको राप्रपा अबको चुनावमा राष्ट्रिय पार्टी बन्ने रणनीतिमा छ । दोस्रो संविधानसभा निर्वाचनपछि बलियो उपस्थिति देखाएको राप्रपा प्रतिनिधिसभा निर्वाचनमा एक सिटमा पाखा लागेपछि तीन वटा पार्टी पुन: जुटेर राप्रपाले यसपटक एकता महाधिवेशन गरेको थियो । पार्टीका एजेण्डा कमजोर भएको भन्नेमा बहुसंख्यक प्रतिनिधि एकमत देखिएर नेतृत्व परिवर्तन गर बाध्य भए ।

राप्रपाको पदाधिकारीमा कमल थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरू निर्वाचित भएका छन् । अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग दुई सय मतान्तरले हारे पनि अन्य पदाधिकारीमा भने महामन्त्रीबाहेक सबै थापा प्यानलका निर्वाचित भएका छन् । लिङ्देनको टिममा थापा प्यानलको वर्चश्व देखिएको छ ।

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । पाण्‍डेबाहेक अरु थापा प्यानलका हुन् । महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । राप्रपा प्यानल बनाएर भएको प्रतिस्पर्धामा उपाध्यक्षमा धवलमशेर राणाबाहेक लिङ्देन प्यानलका सवै पराजित भएका छन् ।

राजाको छात्रछायाँमा प्रजातान्त्रिक अभ्यास गर्न चाहने र बहुल हिन्दु धर्मको बाहुल्यता भएको कारण नेपाललाई विश्वको एकमात्र हिन्दु राज्यको विशेषण भएको हिन्दुअधिराज्य नेपाल नाम राख्ने लक्ष्यमा राप्रपा देखिन्छ । गैर हिन्दु भएर हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीको नेतृत्व सम्हाल्न पुगेका लिङ्देनको अवको राजनीतिक यात्रा भने सहज नभई चुनौतीका पहाड अगाडि उभिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !