१४ बैशाख २०८१, शुक्रबार

ओलीले सांसद बनाएकी कोमलले एकाएक रावलको पर्चा बोकेपछि हंगामा


ओलीले सांसद बनाएकी कोमलले एकाएक रावलको पर्चा बोकेपछि हंगामा तस्वीर सौजन्य : रातोपाटी

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद बनाएकी कोमल वलीले एकाएक अध्यक्षका अर्का प्रत्यासी भीम रावलका पर्चा बोकेकी छन् । वलीले एमाले अध्यक्ष ओलीले राष्ट्रियसभाको सदस्य बनाएका थिए ।

कोमल वलीलगायतका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गर्दै मूल गेटसम्मै पुगेपछि स्वयंसेवकहरुले उनीहरुलाई ‘पर्चा बाँड्न पाइँदैन’ भन्दै बाहिर पठाइदिएका छन् । बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई उनीहरुले पर्चा वितरण गरेका थिए । रावलका लागि विरतण गरिएको पर्चामा ‘मेरो उम्मेदवारी किन’ लेखिएको छ ।

गायिका समेत रहेकी वलीले रावलको पर्चा हातमा बोकेर तस्बिर खिचाएपछि ‘कोमल वलीले रावलको प्रचार गरिन्’ भन्ने हल्ला चलाइएको छ । तर उनले रावलको प्रचार नगरेर आफ्नो केही प्रतिनिधिले पर्चा थमाएपछि लिएको बताइएकी छन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका रावलले चुनावी प्रचार शुरु गरेका हुन् । एमालेको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहँदा अध्यक्षका दावेदार रावलले प्रचार शुरु गरेका हुन् ।

वर्तमान अध्यक्ष ओली आइतबार पनि सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुसँग छलफल जारी राखेका छन् । तर वर्तमान उपाध्यक्ष समेत रहेका रावलले अध्यक्ष पदका लागि मत माग्न शुरु गरेपछि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम हुँदै गएको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि सहमति जुटाउन भन्दै ओलीले केही नेताहरुसँग छलफलमा जारी राख्दा १० बजे शुरु बस्ने भनिएको निर्धारित बन्दसत्र समेत पछाडी धकलिएको छ । आजको बन्दसत्रले ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !