१३ बैशाख २०८१, बिहिबार

देउवाको भनाइमा प्रचण्डको आपत्ति : एमसीसी पारित गर्ने भनेर चिठी नलेखेको स्पष्टोक्ति


प्रचण्ड र शेरबहादुर देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको स्पष्ट पारेका छन् ।

आज शुक्रबार ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी देउसीभैलो टोलीलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने भन्दै थप समयका लागि चिठी लेखेको बताएका हुन् । प्रचण्डले एमसीसी संशोधन नगरी कुनै हालतमा पारित नहुने बताएका हुन् ।

स्कटल्यान्डको ग्लास्गोमा भएको कोप-२६ सम्मेलनमा भाग लिएर स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहीबार प्रचण्ड र आफूले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेको बताएका थिए ।

एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवाको भनाइले देशभरी तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका हुन् । प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी लेखिएको देउवाको सोही भनाइप्रति तीव्र आपत्ति प्रकट गर्दै खण्डन गरेका हुन् ।

प्रचण्डले भने, ‘हिजो शेरबहादुरजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डजी र मैले चिठ्ठी पठाइसकेको छु भनेर । देशैभरी साथीहरुमा तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठ्ठी पठाएको होइन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।’

उनले एमसीसी पारित गर्न राजनीतिक दलहरुसँग आवश्यक छलफल गर्नुपर्ने बारेमा चिठी लेखिएको प्रष्ट पार्ने कोशिश गरेका हुन् । प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए ।

प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं । समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’

प्रचण्डले विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएतापनि एमसीसीमाथि प्रश्न उठेको बताए । उनले एमसीसी पारित गर्ने समय मागेतापनि पारित गर्ने भनेर चिठी नलेखिएको प्रष्ट पारेका हुन् ।

एमसीसी पास गर्छौं भनेर चिठी लेखेको भन्ने देउवाको अभिव्यक्तिले देउवा-प्रचण्ड सम्वन्धमा खटपट आएको छ भने सिंगो सत्तारुढ गठबन्धनमा नै अहिले तरंग उत्पन्न भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !