७ बैशाख २०८१, शुक्रबार

भीम आचार्यले प्रदेश प्रमुखलाई बुझाए मुख्यमन्त्री पदवाट दिएको राजीनामा पत्र


भीम आचार्यले बुझाए राजीनामा पत्र

विराटनगर । प्रदेश १ मा भीम आचार्यले मुख्यमन्त्री पदवाट दिएको राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । आज सोमबार प्रदेशसभाको बैठकमा सम्बोधनपछि राजीनामा घोषणा गरेका आचार्यले लगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा आज विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा घोषणा गरेका थिए । मुख्यमन्त्री हुँदा आफूले गरेका काम सदनमा प्रस्तुत गर्दै पार्टीको वहुमत नरहेकोले मुख्यमन्त्री पदवाट आफूले राजीनामा दिएको बताएका थिए ।

आज सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्यलाई सदनमा मन्तब्य राख्न समय उपलब्ध गराएका थिए ।

आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । आज प्रदेशसभा बैठकमा आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यतालिका रहेको थियो ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य पहिले संसदीय दलको नेता र सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति जुटेको छ ।

प्रदेश १ मा आचार्यले मुख्यमन्त्री पदवाट राजीनामा दिएपछि नेकपा (एस) पार्टीका राईले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । राईले तिहार अगाडि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

आचार्यले राजीनामा बुझाएपछि प्रदेश प्रमुख प्यासीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुखले आह्वान गरेलगतै गठबन्धनले दाबी पेस गर्ने तयारी गरेका छ ।

भीम आचार्यले राजीनामा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !