१२ श्रावण २०८१, शनिबार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिए राजीनामा


भीम आचार्य

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री हुँदा आफूले गरेका काम सदनमा प्रस्तुत गर्दै पार्टीको वहुमत नरहेकोले मुख्यमन्त्री पदवाट आफूले राजीनामा दिएको बताएका छन् । आज सोमबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने सन्दर्भमा सभामुख प्रदीप कुमार भण्डारीले आचार्यलाई सदनमा मन्तब्य राख्न समय उपलब्ध गराएका थिए ।

आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । आज प्रदेशसभा बैठकमा आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यतालिका रहेको थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेका थिए ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य पहिले संसदीय दलको नेता र सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए ।

आचार्यले राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !