२१ बैशाख २०८१, शुक्रबार

अन्तत: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने


भीम आचार्य

काठमाडौं । अन्तत: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आज दिउँसो १२:३० बजे बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यतालिका रहेको थियो ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिने तयारी गरेका हुन् । विपक्षी गठबन्धनले भने मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका थिए ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई प्रस्ताव गर्ने निर्णय गरेका थिए ।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए । शेरधन राईले पदबाट राजीनामा दिएपछि आचार्य पहिले संसदीय दलको नेता र सोही दिन मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री आचार्यले बहुमत नपुग्ने भएकोले विश्वासको मत पाउने सम्भावना नरहेकाले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् । आचार्यले राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !