८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा गठबन्धनवीच किचलो : मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने कांग्रेसको माग


राजेन्द्र राई र राजीव कोइराला

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै नेपाली कांग्रेसले माग गरेको छ । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने माग गरेका हुन् ।

कोइरालाले आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । बैठकअघि संसदीय दलका नेता राजीव कोइरालाले वाग्मती र प्रदेश १ मा छुट्टाछुट्टै नियम लागू नहुने बताए ।

वाग्मतीमा काङ्ग्रेस समाजवादी आधाआधा सत्ताको नेतृत्व गर्ने सहमति छ । उनले आलोपालो वाग्मतीमा छुट्टै र प्रदेश १ मा छुट्टै नियम लागू नहुने बताए । उनले भने, ‘वाग्मतीमा एउटा र प्रदेश १ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।’‘ फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

यसअघि असोज २१ गते बिहिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

प्रदेश १ को प्रदेशसभा बैठक नबसी कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो एक सूचना जारी गर्दै बैठक कात्तिक १५ गते दिउसो १२:३० बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको हो ।

यसअघि आफ्ना सांसदले फ्लोर क्रस गर्ने थाहा पाएपछि नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको थियो ।

यस्तै सत्तारूढ दल एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । एमालेले कात्तिक १५ गतेपछि बैठक राख्न माग गरेको थियो । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका थिए ।

संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) दलले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी आलोपालो सत्ता चलाउने रणनीति देखिन्छ ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ताको लागि राजनीति गरेको भनेर कुरा कटुआलोचना गरेका तिनै दलका नेताहरु अहिले सत्ताको लागि लुछाचुडी गरिरहेका छन् । हेर्दा लाग्छ उनीहरु जनताको लागि होइन सत्ताको लागि मात्र राजनीति गरेजस्तो छर्लंग देखिएको छ ।

प्रदेशमा राजनीतिक भागबण्डा र आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति गर्दै सत्ता गठबन्धनका दलहरु व्यस्त छ । देशको विकास र जनताको जीवनस्तर उठाउने बारेमा सोच्ने उनीहरुलाई पटक्कै फुर्सद छैन ।

यो पनि पढ्नुहोस्

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !