८ बैशाख २०८१, शनिबार

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति


केपी ओली, भीम रावल र घनश्याम भुसाल

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेभित्र फेरि विवाद बल्झिएको छ । १० बुँदे समझदारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि प्रकट गरेपछि विवाद सतहमा देखिएको हो ।

हिजो बुधबार बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गत असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको भन्दै १० बुँदेको एकतारे नबजाउन भनेर अभिव्यक्ति दिएपछि रावल र भुसालले असन्तुष्टि जनाएका हुन् ।

रावललगायत नेताहरूले १० बुँदे कार्यान्वयन हुनुपर्ने बताइरहेका बेला ओलीले अब १० बुँदेको एकतारे नबजाउन भनेका हुन् । ओलीले माधव नेपाल पार्टीमै बस्छन् भनेर त्योबेला १० बुँदे गरिएको पनि बताएका थिए ।

नेता नेपालतिर रहेका एमालेका रावलसहित १० जना नेताहरू ले खोलेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा नगई नेपाललाई छोडेर १० बुँदेलाई मानेर एमालेमै रहेका थिए । पार्टीलाई एकताबद्ध बनाएर लैजान गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने रावलको भनाइ छ ।

रावलले पार्टीमा गरिएको १० बुँदे समझदारी पार्टी एकता बचाएर देशहितका लागि बजाइएको विगुल भएको बताएका छन् । १० बुँदे सहमतिवारे ओलीको उक्त अभिव्यक्तिको सामाजिक संजाल ट्वीटरमा जवाफ दिंदै रावलले एकतारे नभई पार्टी एकताका लागि बजाइएको ११ तारे विगुल भएको स्पष्ट पारेका छन् ।

रावलले लेखेका छन्, ‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

भिम रावल ट्वीट

अध्यक्ष ओलीले १० बुँदे सहमतिवारे गरेको टिप्पणीलाई लिएर उपमहासचिव भुसालले पनि असन्तुष्टिको प्रकट गरेका छन् । ओलीको धारणालाई भद्दा भौतिकवाद भन्दै भुसालले एउटा संस्कृतको श्लोक पनि राखेका छन् ।

भुसालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘यावत् जीवेत् सुखम् जीवेत् । ऋणं कृत्वा घृतं पिबेत् । भस्मिभूतस्य देहस्य पुनरागमनं कुतः। आचार्य चार्वाकको यो श्लोकको अर्थ हुन्छ – जति जिउँछौ सुखसँग जिउने गर । ऋण गरेर भए पनि घिउ पिउने गर । चितामा भष्म हुने यो शरीर हो, पुनर्जन्म कसरी हुन्छ ?

घनश्याम भुसाल ट्वीट

भुसालले पोष्ट गरेको उक्त श्लोक केही वर्षअघि सम्पूर्ण बाहरूप्रति समर्पित गर्दै बुवाको मुख हेर्ने दिन कुशेऔंसीमा सिस्नुपानी नेपालले आयोजना गरेको ‘बा !’ कार्यक्रमको हास्य कलाकार मनोज गजुरेलले वाचन गर्दै बा पुराण सुनाएर आफ्नो प्रस्तुतिबाट दर्शकलाई हँसाउने र रुवाउने दुवै काम गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !