१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवा निस्किए सुदूरपश्चिमको अवलोकनमा, यस्तो छ भ्रमण तालिका


प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ निस्किएका छन् । आज विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ लागेका हुन् ।

सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विपत‍्मा परेका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एक भन्दा धेरैको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने बैठकले निर्णय गरेको छ । यस्तै सरकारले बाढीपहिरोमा परी घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ ।

सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोले घर भत्काएकाहरूलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले घर भत्केकाहरूलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

बाढी पहिरोले पहाडमा घर भत्केकाहरूलाई घर निर्माण गर्न ४ लाख, हिमाली क्षेत्रकालाई ५ लाख र तराईका पीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली बालुवाटारबाट सिधै सुर्खेत जानेछ । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जानुहुने उनको सचिवालयले जनाएको छ ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्री देउवाले बिफ्रिङ लिएपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङ पुगेर त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

बझाङबाट प्रधानमन्त्रीको टोली बैतडीको ढुंगाड पुगेर अवस्था अवलोकन गरी त्यहाँबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्नेछन् । डडेलधुरा सदरमुकाम पुगेर उनले खाना खानेछन् । डडेलधुरा पनि बिफ्रिङ र अवलोकन गर्ने छन् ।

डडेलधुराको दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिंग लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गरेपछि प्रधानमन्त्रीको टोली कञ्चनपुरको महेन्द्रनगर प्रस्थान गर्नेछ । कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ ।

महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिंग सुनेपछि बह्मदेवको अवलोकन गरी त्यहाँबाट दोधारा-चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्नेछन् । कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ । देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किनेछ ।

प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको विभिन्न जिल्लामा निरिक्षणपश्चात् कात्तिक ५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।

यस्तो छ भ्रमण तालिका

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को निर्णय : घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने

मन्त्रिपरिषद्को निर्णय : बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई २ लाख राहत दिने

बाढी, पहिरोमा मृत्यु भएका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार दिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !