१४ बैशाख २०८१, शुक्रबार

एमालेले चाहे देउवा सरकार एक सातामा ढल्ने ओलीको दावी


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी गरेका छन् ।

आज बुधबार काठमाडौंमा आयोजित वागमती प्रदेश कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले वर्तमान देउवा सरकारमा लोभी पापीमात्रै रहेकाले उनीहरूलाई अलिकति बिलो लगाउने हो भने चाडैं ढल्ने बताएका हुन् ।

उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभी पापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

ओलीले पार्टी महाधिवेशनमा जुटिसकेको बताउदै महाधिवेशनले कार्यकर्तामात्र नभएर जनतालाई समेत परिचालन गर्नुपर्ने बताए । ओलीले एमालेको उदेश्य र अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे ।

ओलीले आगामी चुनावमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताए तर कांग्रेससँग जनतालाई भन्ने एजेण्डा नै नरहेको भन्दै बाँकी दलहरुले चुनावमा च्याँखे थाप्न तयार भएको टिप्पणी गरे ।

उनले माओवादीले एउटा वडा पनि जित्न गाह्रो हुने भनेर अध्यक्ष प्रचण्डले बोलेको स्मरण गर्दै अहिले प्रचण्ड फेरि देशकै ठूलो पार्टी बनाउँदै हिँडेको बारेमा कटाक्ष गरे ।

उनले माधव नेपाल नेतृत्वको पार्टी वामपन्थी हुन नसक्ने समेत बताउदै आफ्नै पार्टी एमालेको सरकार ढाल्ने के वामपन्थी बन्न सक्छ ? भनेर प्रश्न गर्दै त्यसैले तिनीहरु वामपन्थी नभएको आरोप लगाए ।

उनले अर्ली इलेक्सन भए आफुहरु मान्न तयार रहेको पनि बताए । उनले आफ्ना पार्टीका कार्यकर्तालाई निर्देशन दिंदै भने, ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ । हामीलाई सवै तहका चुनावमा विजयी चाहियो । हाम्रो निशाना चुनावको तयारी ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !