१४ बैशाख २०८१, शुक्रबार

बिखण्डनकारीलाई घाँस नहाले हुन्छ, दुध आउँदैन: प्रधानमन्त्री


kp-sharma-oli-nepal-pm kp-sharma-oli-nepal-pm

चैत्र १९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बिखण्डनको सपना कहिल्यै पूरा नहुने बताएका छन् ।

पार्टी निकट विद्युत प्राधिकरण कर्मचारी युनियनको महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकारले त्यस्तो प्रवृत्तिलाई नियन्त्रणमा लिने उल्लेख गरे । ‘मुलुक बिखण्डनको कुरा गर्नेलाई कसैले घाँस नहाले हुन्छ,’ उनले भने, ‘कदापी दुध आउनेवाला छैन ।’

विघण्डनको अभिव्यक्ति दिनेलाई कसले उक्साएको हो भन्नेबारे प्रधानमन्त्रीले बोलेनन् । उनले भने, ‘खुलेआम देश टुक्र्याउने देशद्रोही कुरा सुन्न पनि सकिंदैन, यो देश टुक्र्याउन दिइनेछैन, त्यस्तोलाई सरकारले नियन्त्रणमा लिन्छ ।’

प्रधानमन्त्रीले जनताको मतबाट निर्वाचित सरकारको पहिलो दायित्व नै मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा नोक्सान हुनबाट रोक्ने रहेको उल्लेख गर्दै आफ्नो दायित्व सरकारले पूरा गर्ने बताए ।

प्रधानमन्त्रीले नेपाल विश्वको सानो देश नभएको स्मरण गराउँदै आन्तरिक मामलामा बढी चासो नदिन अन्तर्राष्ट्रिय समूदायलाई चेतावनी दिए । ‘दुई ठूला छिमेकीको बीचमा रहेकालेमात्रै नेपाल सानोजस्तो देखिएको हो,’ विश्वमा अरु पनि धेरै साना देश रहेको उल्लेख गर्दै उनले भने, ‘समग्रमा नेपाल मझौला देश हो, स्वतन्त्र र स्वाधिन मुलुक हो भन्ने अरुले बिर्सन हुँदैन ।’

प्रधानमन्त्री ओलीले नेपालको नयाँ संविधानले कसैलाई विभेद नगरेको उल्लेख गर्दै आन्तरिक मामिलामाथिको हस्तक्षेप स्वीकार्य नभएको बताए । ‘भारतबाट आएर कति मन्त्री र सांसद भएका छन्,’ उनले भने, ‘संविधानमा विभेद छ भन्ने भ्रमण तोड्न चाहन्छौं ।’

ईयू–भारतले नेपालको संविधानबारे गरेको टिप्पणीप्रति पनि प्रधानमन्त्रीको तीब्र असन्तुष्टि थियो । ‘नेपालका आन्दोलनकारीले चित्त बुझाएर आन्दोलन फिर्ता लिइसके,’ उनले भने, ‘उता ब्रसेल्सतिरका कसै कसैलाई चित्त बुझेको छैन भन्ने पनि सुनें ।’

प्रधानमन्त्रीले आफ्नो भारत र चीन भ्रमण सफल भएको दाबी गरे । ‘पहिलेका प्रधानमन्त्री कहिले भारत गयो, कहिले आयो जनतालाई पत्तै हुँदैनथ्यो,’ उनको भनाइ थियो, ‘यसपालि हाम्रो प्रधानमन्त्रीले पाइलो कसरी सार्‍यो, हात कसरी हल्लायो भन्नेसमेत जनताको चासो थियो ।’

पार्टीमा गुटबन्दी गरेको छैन
एमाले अध्यक्षसमेत रहेका ओलीले आफूले पार्टीभित्र गुटबन्दी नगरेको बताए । ‘मैले बालुवाटारमा बोलाएर कसैलाई मेरो पक्षमा लाग, सहयोग गरेको भनेको छैन, मैले कसरी गुटबन्दी गरें ?,’ मञ्चमा रहेका सचिव गोकर्ण विष्टतिर हेर्दै ओलीले भने, ‘गोकर्णजी मोर्चा संगठन प्रमुख हुनुहुन्छ, उहाँलाई त भनेको छैन, अरुलाई किन भन्ने ?’

प्रधानमन्त्रीले मुलुक असहज अवस्थामा रहेकाबेला कर्मचारीले व्यक्तिगत स्वार्थका लागि राज्यलाई अप्ठ्यारो पार्ने काम गर्न नहुने बताए । उनले सरकारले पूर्व–पश्चिम राजमार्ग चौडा बनाउने, काठमाडौं–केरुङ सडक दुई लेन बनाउने, किमाथांका–खाँदबारी सडक पुनर्निर्माण र तुइन हटाउने कामलाई तीब्रता दिएको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !