२४ बैशाख २०८१, सोमबार

मन्त्री पण्डितले भने, ‘निर्णय नमान्नेहरुलाई निजामति कर्मचारी ऐन अनुसार अनुशासनको कारबाही गर्छु’


१५ चैत, काठमाण्डौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालमा काम कम विदा धेरै भएकोले गर्दा विगतमा दिने गरिएको विदा कटौति गर्न लागिएको बताएका छन् । सार्वजनिक विदा व्यवस्थित गर्नुपर्ने भएकाले विदा कटौति गरिएको उनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री पण्डितले कामलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउनका लागि विदा कटौति गरिएको उनको भनाई छ ।

कतिपय धार्मिक समुदायका लागि भने विदा यथावत हुने पण्डितले जानकारी दिए । धर्म र जातसँग जोडिएका पर्वमा सरोकार भएकालाई मात्र विदा दिइने उनले बताए ।

“जुन विदा आवश्यक थिएन । त्यो विदा कटौति गरिएको हो । यो अहिलेको आवश्यकता अनुसारको निर्णय हो ।” पण्डितले भने ।

सरकारको निर्णय नमान्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने उनले बताए । कसैले व्यक्तिगत रुपमा सरकारको निर्णयको विरोध गर्नुको अर्थ नरहेको मन्त्री पण्डितले स्पष्ट पारे । सरकारले गरेको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनको दाबी छ ।

“सरकारको निर्णय ऐन कानुनसम्मत छ । जसरी पनि कार्यान्वयन गर्छु, गराउँछु । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन । निर्णय नमान्नेहरुलाई निजामति कर्मचारी ऐन अनुसार अनुशासनको कारबाही गर्छु ।” पण्डितले भने ।

कर्मचारीले सरकारको निर्णयविरुद्ध गर्ने भनेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । सडकमा गुनासो गरेर हिँड्नुको कुनै अर्थ नरहने भन्दै मन्त्री पण्डितले आफूसँग अहिलेसम्म छलफल नगरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !