२२ बैशाख २०८१, शनिबार

देउवा सरकारलाई सञ्चार माध्यमले खबरदारी नै गरेन : अध्यक्ष ओली

ओलीले भने- एमाले फुटाउने काम सकिएपछि अध्यादेश फिर्ता भयो


सम्पादकहरूसँग ओलीको गुनासो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई सञ्चार माध्यमले खबरदारी नै नगरेको भनेर सम्पादकहरूसँग गुनासो गरेका छन् ।

नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आज मंगलबार आयोजित विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सञ्चार माध्यमहरुले खबरदारी नगरे देउवा सरकार ठिक ठाउँमा नबसी लापरवाह हुने बताएका हुन् ।

ओलीले भने, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ । सञ्चारमाध्यमले खबरदारी गरेन भने सरकार बेपरवाह हुन्छ । अहिले सञ्चार माध्यम चुप छ । किन सरकारसँग गुन लगाएर चुप लागेर बसेको छ ?’

ओलीले दल विभाजनका लागि ल्याएको अध्यादेश पनि संविधानको मर्मविपरीत हुँदा पनि सञ्चारमाध्यम चुप लागेर बसेको पनि बताए । सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो ।

उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

ओलीले आफ्नो पार्टी फुटाउने मनसायले नै सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको जिकिर गरे ।

उनले भने, ‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो । मैले पनि ४० प्रतिशतमा वा राखेर अध्यादेश ल्याएको थिएँ, त्यसबेला उत्पात गरेका थिए,” ओलीले भने, “सञ्चारमाध्यम चुप छन् किन हो ? अध्यादेश खारेज गर्न पनि अर्को कानुन चाहिन्छ । संसद् चालु रहँदा सूचना टाँस गर्न पाइँदैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !