२० बैशाख २०८१, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफल जारी


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हिजो शुक्रबारदेखि शुरु भएको बैठक आज शनिबार विहान ११ बजेदेखि समूहगत छलफल शुरु भएर दिउँसो ३ बजे केन्द्रीय कार्य समितिको पूर्ण बैठक बस्नेछ ।

शुक्रबार बैठकमा पेश भएको विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावमा आज बिहान ११ बजेदेखि समूहगत छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

यद्यपि एमालेका तेस्रो धार नेताहरुले हिजो १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए । हिजोको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर समूहगत छलफल थालिएको हो । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूह बनाइएको छ ।

केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेश गरिने छ । एमालेको विधान महाधिवेशन आगामी असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीस्थित सम्मेलन हलमा हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !