२१ बैशाख २०८१, शुक्रबार

आखिर किन छाडे वामदेव गौतमले नेकपा एमाले ? यस्ता छन् कारणहरु


केपी शर्मा ओली र बामदेव गौतम

काठमाडौं । अन्तत: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । आज शुक्रबार गौतमले एमाले मुख्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् ।

गौतमले पार्टी परित्याग गर्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् ।

गौतमले राजीनामा पत्रमा भनेका छन्, ‘तपाईं नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित कार्यदिशालाई कहिल्यै पनि अवलम्बन गर्नुभएन । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको साझा घोषणापत्रलाई तपाई प्रधानमन्त्री भएपछि आफ्नो कार्यकाल भरी त्यसलाई लागु गर्नुभएन । तपाईंले गर्नुभएका कतिपय कामहरूलाई पटक पटक सर्वोच्चका संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईंले आफूलाई सुधार गर्न सक्नुभएन ।’

‘तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो । आफ्ना समकक्षी कमरेडहरूलाई समेत तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचार अनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्कासनसम्मगर्ने जस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृति र शैली अगाल्नुभयो । त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो ।’

उनले अगाडि भनेका छन्, “म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु ।”

एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी उनले आफ्नो पुरानो पार्टी त्याग गरेका हुन् । उनी विगत लामो समयदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका थिए ।

राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव तामाङले बताएका छन् ।

गौतमले राजीनामा पत्रका एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । पछिल्लो पटक नेता गौतमले नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद अनुशरण गरेमात्र पार्टी प्रवेश गर्ने बताएका थिए ।

अन्तत: नेकपा एमाले छाडे वामदेव गौतमले (राजीनामा पत्रसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !