८ बैशाख २०८१, शनिबार

एकैदिन देउवा, प्रचण्ड र नेपालबीच दुई पटक छलफल, उपलब्धि हातमा लाग्यो शून्य


शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपाल

काठमाडौँ । मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच हिजो एकैदिन दुई पटक छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता विषयका अलावा पाँच दलीय गठबन्धनलाई थप प्रभावकारी बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका थिए ।

हिजो साँझ भएको छलफलका आधारमा आज सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । आज बिहान बस्ने भनिएको बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । हिजो बिहान पनि उनीहरूबीच मन्त्रिमण्डललाई पूृर्णता दिने लगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) को हिजो बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको छ । यस्तै, जनता समाजवादी पार्टीले पनि सरकारमा जाने विषयमा आवश्यक छलफल गरी निर्णय गरिसकेको छ ।

गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका देउवा नेतृत्वको मन्त्रिमण्डलमा एक राज्यमन्त्रीसहित नेपाली कांग्रेसका ३ जना, माओवादी केन्द्रका २ जना मन्त्रीले जिम्मेवारी सम्हाल्दै आएका छन् । यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन् ।

नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । गठबन्धनमा सहभागी सबै दलले सरकार विस्तारका बारेमा आवश्यक तयारी गरिसकेकाले अब छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको भन्ने जानकारी आएको छ ।

बालुवाटारमा प्रचण्ड र नेपाल गएर देउवालाई भेट्ने चिया कफी खाने तर हातमा लाग्यो शून्य भनेझैँ निष्कर्षमा नपुग्ने प्रवृतिले आम नागरिकमा कस्तो शन्देश जान्छ भन्ने ख्याल किन यी शीर्ष नेताहरुले नगरेका होलान् ? प्रधानमन्त्री भएको डेढ महिना भइसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नु लज्जास्पद कुरा हो ।

जाबो मन्त्रिपरिषद्लाई पूर्णता डेढ महिनासम्म पूर्णता दिन नसकेका अहिलेका यी सत्ता गठबन्धनका शीर्ष नेताहरुवाट नागरिकले के आशा राख्ने ? यो त विगतमा बालुवाटारमा केपी ओली र प्रचण्डवीच हुने गरेको छलफल जस्तै भएन र ? नेताहरु सत्ता र कुर्सीको चक्रब्यूहवाट फस्ने गरेको भन्ने लाग्दै आएको पुरानो आरोपवाट यी सत्ता गठबन्धनका नेताहरु संचेत हुनुपर्ने होइन र ?

यसअघि ओली प्रधानमन्त्री भएको समयमा बालुवाटारमा ओली र प्रचण्डको निष्कर्षबिहिन छलफलले नेपाली नागरिकहरु वाक्कदिक्क भएका थिए । त्यहि दुर्दशालाई फेरि देउवाले दोहोर्याएर किन खाडलमा फस्दैछन् । कोरोना महामारीले आक्रान्त नेपाली जनता सत्तारुढ गठबन्धनका नेताहरुको मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा भन्दै पटक-पटक बालुवाटारमा छलफल गर्नुले के नयाँ अपेक्षा गर्ने हो ?

खाली जहिले छलफल भनेर बालुवाटारमा बस्ने तर सहमति ननिकाली सत्ताको गाईजात्रा देखाउदा जनतामा पहिलाकै जस्तै बितृष्णा पैदा हुन शुरु भई सकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यस्तो गाईजात्रा देखाउने कान बन्द गर्ने पर्छ । आम नागरिकले दुरवीनले हेरिरहेका छन् । सरकारले परिणाममुखी काम गर्नेपर्छ ।

राजावादीहरुले मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हावी भएको भन्न थालिसकेका छन् ।यसअघि पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै ०६२/६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरुले चरणबद्ध प्रदर्शन गरिसकेका छन् । अहिले उनीहरु केही सेलाएका छन् ।

राजावादीहरुले अहिलेको व्यवस्थालाई धावा बोल्दै गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दुराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने जस्ता नारा सडकमा लगाइसकेका छन् । ओली सरकारको पालामा राजतन्त्रका पक्षमा सभा प्रदर्शन बढ्दै गएपछि ओली सरकार शशंकित समेत भएर परिवर्तनकै विरुद्धमा आन्दोलन बढेपछि त्यसबारे छलफल गर्न तत्कालिन प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु परेको समेत दृष्टान्त पुरानो भईसकेको छैन ।

हिजो ओली सरकारलाई हटाउन आफ्नै घरमा लागो लगाएर खरानी बनाई देउवा सरकारलाई साथ दिएका माधव नेपालले आफ्नो साख जोगाउन जरुरी छ । आफ्नो पुरानो पार्टीलाई विभाजन गराएर नयाँ पार्टी खोल्दा विडम्बनापूर्ण अवस्था भएको तीतो यथार्थ हामीसामू छ । होशियार माधव नेपाल ! फेरि हालत सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई जस्तो होला । केही सिर्जनात्मक नयाँपन दिने कोशिश गर्नुहोस् ।

हिजो साँझ भएको छलफलका आधारमा आज बस्ने भनिएको गठबन्धनको बैठक बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ । आज बिहान ठोस निष्कर्ष निकालेर मन्त्रिपरिषद् अबिलम्ब पूर्णता दिन जरुरी छ । फेरि देउवालाई पनि ओलीकै पुरानै शैलीमा त्यही बाटोमा हिड्ने छुट नागरिकले दिने छैनन् । बुद्धिमा बिर्को नलागोस् भन्ने कामना मात्र गरौ ।

बेलैमा चेतना भया । नेपालमा यो भन्दा अघिदेखि विभिन्न सरकारले देखाएका सपना र यही व्यस्थादेखि नागरिकमा बितृष्णा पैदा भईसकेको छ । नागरिकको सरकार र राजनीतिक दलप्रति हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन भईसकेको छ । हिजोका राजा महाराजा कसरी हटे त्यो अवगत होस् । सूचना र प्रविधिको विकासले नेपाली नागरिक धेरै शिक्षित र संचेत भईसकेका छन् ।

बाग्मतीमा धेरै पानी बगिसकेको छ । नागरिकले लडेर ल्याएको लोकतन्त्रलाई बदनाम बनाउने काम अहिलेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुवाट पटक्कै हुनु हुँदैन । आम नागरिकले परिणाममुखी लोकतन्त्रको प्रत्याभूति गर्न सक्ने स्थितिको सिर्जना होस् ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने ओली सरकारले नै ल्याएको नारा भएतापनि त्यसलाई अव आउने जुनसुकै सरकारले अनुशरण गर्नेपर्ने बाध्यात्मक स्थिति सिर्जना भएको छ । नारा जसले ल्याएपनि कसले त्यही त्यसलाई कार्यान्वयन गर्यो भन्नेले अहम् भूमिका खेल्दछ ।

आम नागरिकले विकास चाहेका छन् । तर कुरा मात्र होइन देखिने र महसुस गर्न सकिने ठोस काम । सवै नेपालीको यही इच्छा र आकांक्षा पुरा गर्नेतर्फ देउवा सरकार लाग्नैपर्छ । नलागी सुख नै छैन । नेपालका कम्युनिष्टहरुले आफ्नै घर खरानी बनाएपछि काँग्रेस सभापति देउवाको हातमा सत्ताको बागडोर आएको हो । यो अवसरलाई देउवाले आफ्नो पार्टीको लागि पनि सदुपयोग गर्न जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !