काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं–निजगढ फास्ट ट्र्याकसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा ध्यान दिन सरकारलाई आग्रह गरेको स्पष्ट पारेका छन् । –
प्रमुख प्रतिपक्षी दलका नेता देउवाले बुधबार विज्ञप्ति जारी गर्दै संसदमा मंगलबार आफूले राखेको धारणालाई सञ्चारमाध्यमले बंग्याएको आरोप लगाएका हुन् । ‘पूर्ववर्ती सरकारले बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) ऐनअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट गरी परियोजनाको सम्झौता प्रक्रिया अघि बढाई सम्बन्धित पक्षलाई दिने/नदिने कुरा टुंगो लगाउन बाँकी रहेको र यसै सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन रहेको कुरालाई ध्यानमा राखौं भन्ने मेरो भनाइ रहेको प्रष्ट पार्न चाहन्छु,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लगानीकर्तामा नकारात्मक सन्देश जानुहुँदैन भन्ने आफ्नो चिन्ता रहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘काठमाडौं–निजगढ फास्ट ट्र्याकबारे हिजो मैले संसदमा बोलेको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ ।’ सरकारको नीति तथा कार्यक्रममाथि मंगलबारको छलफलमा बोल्दै देउवाले स्वदेशी लगानीमा फास्ट ट्र्याक बनाउने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट छनोट गरी सम्झौता प्रक्रिया अघि बढिसकेको विदेशी लगानीलाई निरुत्साहित गर्न नहुने धारणा राखेका थिए । पूर्ववत सम्झौता भएको कम्पन्नीलाई फास्ट ट्र्याक बनाउन दिनुपर्ने धारणा राखेपछि देउवाको पार्टीभित्र र बाहिरबाट तीव्र आलोचना भएको थियो ।
केन्द्रीय सदस्य धनराज गुरुङले सभापतिले संसदमा राखेको धारणाप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘नेतालाई बोल्न नआए नबोलेकै राम्रो, जेपिटी बोलेर बेइज्जत गर्न पाइन्न हाम्रो, काठमाडौं–निजगढ द्रुतमार्ग नेपालकै लगानीमा बनाउनुपर्छ ।’ त्यसपछि देउवाले आफ्नो भनाइबारे स्पष्टीकरण दिएका हुन् ।