१४ बैशाख २०८१, शुक्रबार

एमालेको नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै, ओली समूहको कडा आपत्ति


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल समूहले बताएको छ ।

बैठकले आफ्नो समूहको भावी रणनीति लगायतका विषयमा धारणा तय गर्ने बताइएको छ । पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेता नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् ।

स्थायी कमिटीमा पटक-पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच नेपालले बनाएका हुन् । केही सदस्यहरु उपत्यका बाहिर रहेकाले हिजो बोलाइएको बैठकलाई नेपाल समूहले आजसम्म स्थगित गरेको थियो ।

यता एमालेको संस्थापन केपी ओली समूहले आज बस्न लागेको बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार एमालेले कुनै बैठक नराखेको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई अपील गरेका छन् ।

एमालेले वरिष्ठ नेता नेपाल समूहको केन्द्रीय कमिटी बैठकप्रति कडा आपत्ति प्रकट गरेको हो । एमाले केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

पटक-पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न ओली समूहले पार्टी कार्याकर्ताहरुमा अपिल गरेको थियो ।

एमाले एकतातर्फ उन्मुख भएको साथै पार्टी अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालबीच भेटघाटको तयारी भइरहेको भनिएको बेला नेपाल समूहले आज बोलाएको बैठकको प्रतिवाद गरेको हो ।

एमालेको नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै, ओली समूहको कडा आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !