१४ बैशाख २०८१, शुक्रबार

पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ


कृष्णबहादुर महरा फाइल फोटो

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ ।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी आज मंगलबार फैसला गरेको उच्च अदालत पाटनका रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारी रोशनी शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । २०७५ असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै शाहीले प्रहरीलाई भनेकी थिइन् ।

यी सबै तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको हो । पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर थियो ।

तर पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएपछि जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !