१३ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्री देउवा ज्योतिषको सल्लाह अनुसार साइत हेराएर सरे बालुवाटार


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठवाट सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान ९:५७ बजेको शुभ साइतमा परिवारका सदस्यसहित बालुवाटार प्रवेश गरेका हुन् ।

ज्योतिष विज्ञानमा विश्‍वास राख्‍ने प्रधानमन्त्री देउवालाई ज्योतिषले ९:५७ को साइत उपयुक्त हुने भनेपछि हतार-हतार बिहानै बालुवाटार सरेका हुन् । पाँचौं पटक प्रधानमन्त्री भएका देउवालाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्‍ने योग रहेको यसअघि नै सुनाइदिएका थिए ।

प्रधानमन्त्रीमा सपथ लिनुअगाडि पनि प्रधानमन्त्री देउवाले ज्योतिषकै सल्लाह अनुसार राष्‍ट्रपति कार्यालयले तोकेर बोलाएको समयभन्दा पछि सपथग्रहण गरेका थिए ।

पहिलादेखि नै हरेक शक्तिपिठमा पुजा गर्नु, कालो बोकाको बली चढाउनु र कुनैपनी कार्य थालनी अगाडि ज्योतिष परामर्श लिने देउवाको बानी छ । आज साउने संक्रान्तिको दिन भएकोले पूजापाठ समेत गरेर उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।

देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘७ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय पहिलेदेखि चर्चामा रहँदै आएको छ । २०७४ साल कात्तिक ३० गते बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले ज्योतिषले आफूलाई ७ चोटी प्रधानमन्त्री हुने भविष्यवाणी गरेकोले चुनावपछि पनि आफू नै प्रधानमन्त्री बन्ने धारणा अभिव्यक्त गरेका थिए । त्यो समयमा देउवा नै चौथो पटक प्रधानमन्त्री बनेर कार्यरत थिए ।

ज्योतिष विद्यामा समेत विश्वास राख्ने उनको कुण्डलीमा ग्रह कस्तो छ भनेर बुझ्न त ज्योतिषीलाई नै सोध्नुपर्ला । तर ज्योतिषशास्त्र अनुसार चन्द्रमा गएर ठयाक्कै लग्नमा पुग्यो भने जे चितायो त्यही पुग्छ भन्ने विश्वास रहँदै आएको छ । उनी पाँचौ पटक प्रधानमन्त्री भएर आज बालुवाटार सरिसकेका छन् ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित आफ्नो निजी निवासमा सरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !