१४ बैशाख २०८१, शुक्रबार

सत्ता पक्षीय गठबन्धनको बैठकमा माधव नेपाल अनुपस्थित


सत्ता पक्षीय गठबन्धनको बैठकमा माधव नेपाल अनुपस्थित

काठमाडौं । सत्ता पक्षीय पाँच दलीय गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अनुपस्थित भएका छन् । दिउँसो ४ बजेदेखि प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभएका हुन् ।

आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेपालले आफ्नो प्रतिनिधिको रुपमा डा. विजय पौडेललाई पठाएका छन् । बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी भए ।

प्रधानमन्त्रीको कार्यालयमा भएको बैठकमा नेता नेपाल भने जनै खटिरा आएका कारण सहभागी नभएको नेपाल स्रोतले बतायो । आज बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रबहादुर चन्द ‘विप्लब’सँग नेता नेपालको भेटवार्ता भएको थियो ।

सत्तारुढ गठबन्धनका लागि निर्णायक खेलाडी सावित भएका नेपालका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ भने देउवाले विश्वासको मत प्राप्त गर्नका लागि नेपालको सहयोग अनिवार्य देखिएको छ ।

सत्ता पक्षीय गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चा देउवा सरकारमा सहभागी नहुने उक्त पार्टीले निर्णय गरिसकेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पनि आजसम्म सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाइसकेको छैन ।

एमालेको ओली समूहसँग असन्तुष्ट माधव नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने आश्वाशन देउवालाई दिई सकेकोले उक्त समूहका नेताहरु पनि देउबा नेतृत्वको सरकारमा सहभागी हुन सक्ने आंकलन गर्न सकिन्छ ।

यस्ता नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षले पनि देउवा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा आज कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा छलफल गरेको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेसको आफ्नो गुटवाट बालकृष्ण खाँणलाई गृह मन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्री बनाएका छन् । प्रधानमन्त्री देउवाले पौडेल पक्षवाट मन्त्रीहरुको नामावली छिटो पठाइदिन आग्रह गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !