१९ बैशाख २०८१, बुधबार

माओवादीको बैठकपछि मन्त्रीहरुको नाम टुंगो लगाउन प्रचण्ड देउवा निवासतर्फ प्रस्थान


प्रचण्ड र देउवा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारमा मन्त्रीहरुको नाम टुंगो लगाउन देउवा निवास बुढानिलकण्ठतर्फ प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रले कांग्रेस सभापति देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेकोले देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्डले देउवा निवास बुढानिलकण्ठतर्फ प्रस्थान गरेका हुन् ।

स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले देउवासँग कुराकानी गरेपछि कुराकानीको आधारमा आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘पहिला कस्तो खालको मन्त्रीमण्डल गठन गर्ने, कति जना समावेश गर्ने, कुन–कुन पार्टीहरु समावेश आजै हुने भन्नेबारेमा एक ढंगको छलफल गरेपछि मात्रै यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै नामको बारेमा प्रवेश गरेका छैनौं ।’

माओवादी विशेष स्रोतका अनुसार आज माओवादी केन्द्रबाट २ जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पाैडेल, पम्फा भुसाल लगायतका नेताको नाम अग्रपंक्तिमा रहेको छ ।

विगतमा केपी ओली नेतृत्वको सरकारमा सहभागी नभएकामध्येबाट आज मन्त्री बनाउनेबारे पार्टीमा छलफल भईरहेको बुझिएको छ । पाैडेल अहिलेसम्म मन्त्री बन्न नपाएका माओवादीका सिनियर नेता भएकोले उनको प्रवल सम्भावना रहेको छ ।

तर आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बन्न लागेको देउवा नेतृत्वको सरकारमा कस-कसलाई पठाउने भन्ने वारेमा टुंगो लगाइसकेको छैन । यद्यपि आज बसेको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई मन्त्रीहरुको नाम टुंगो लगाएर पठाउन अधिकार दिएको भने छ ।

नभए देउवालाई भेट गरिसकेपछि आजै दिउसो पुन: स्थायी कमिटी बैठक बसेर सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बताए ।

हिजो सोमबार सर्वोच्चले आज मंगलबार अपरान्ह ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति देउवालाई आज मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !