२० बैशाख २०८१, बिहिबार

एमाले कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदन गर्न स्थायी कमिटी बैठक बस्दै


नेकपा एमाले फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गरी पार्टी एकताको लागि गठित १० सदस्यीय कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

यसअघि हिजो सोमबार साँझ ५ बजेका लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजसम्मका लागि सारिएको थियो । आज बस्ने स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने बुझिएको छ ।

आजको बैठकमा माधव नेपाल पक्षका नेताहरु पनि सहभागी हुने र विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुमोदन गर्ने भएको हो । माधव नेपाल पक्षका कार्यदल सदस्य भीम रावलसँगको परामर्शपछि महासचिव पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

कार्यदलले पार्टी विवाद समाधानका लागि १० बुँदे सहमतिको प्रस्ताव तयार पारेको छ । लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै सत्तारुढ एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेपछि सो दल विभाजन हुनबाट जोगिएको हो ।

कार्यदलमा प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने सहमति गरेको थियो ।

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक-शुभेच्छुकहरू चिन्तित रहेकाले एकता अपरिहार्य रहेको कार्यदलको निष्कर्ष निकालेको थियो ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !