२४ बैशाख २०८१, सोमबार

एमाओवादीबाट ‘धोका’ पाएका देउवालाई पार्टीभित्रै अप्ठेरो


sher bahadur deawa

काठमाडौं : एकीकृत नेकपा माओवादीबाट सरकार परिवर्तनका विषयमा ‘धोका खाएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र पनि अप्ठेरोमा देखिएका छन्।

पार्टीभित्र संस्थागत रुपमा छलफल समेत नगरी एमाओवादी नेतृत्वमा सरकार गठनको होमवर्क गरेका र त्यसमा असफल भएपछि पार्टीको साख गिरेको भन्दै कांग्रेसकै केन्द्रीय सदस्यहरुले ध्यानाकर्षण गराएका छन्।

‘पार्टीभित्र छलफल नै नगरी एकलौटी ढंगले निर्णय गरेर अघि बढ्न खोज्दा ठूलो असफलता हात लागेको छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले अबका दिनमा पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न ध्यानाकर्षण गरेका छौं।’

महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गएको टोलीले देउवालाई अबका दिन एकलौटी ढंगले अघि नबढ्न ध्यानाकर्षण गराएको थियो।

‘सरकार परिवर्तनजस्तो महत्त्वपूर्ण विषयमा पार्टीभित्र आवश्यक छलफल समेत नगरी अघि बढ्दा सकारात्मक परिणाम आउन सकेन। यसले पार्टीलाई कमजोर बनाएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसैले निर्णय प्रक्रियामा जानुपूर्व आवश्यक छलफल गर्नसमेत आग्रह गरेका छौं।’

जवाफमा सभापति देउवाले आगामी दिनमा छलफलबाट नै निर्णय हुने आश्वासन दिएका थिए। १३ औं महाधिवेशनमा शेरबहादुर देउवाविरुद्ध रामचन्द्र पौडेल प्यालनबाट चुनाव जितेका केन्द्रीय सदस्यहरुले देउवाको ध्यानाकर्षण गराएका हुन्। देउवा विरुद्धको चुनावी प्यानलका नेता रामचन्द्र पौडेल भने पारिवारिक भ्रमणमा अमेरिका छन्।

भेटमा सहभागी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने अहिलेकै समसामयिक विषय के कसरी आएका हुन् भनेर सल्लाहका लागि देउवा निवास पुगेको बताए। ‘सरकार परिवर्तनका विषयबारे, कृत्रिम अभाव र मह‌ँगीका बारे कुरा भयो,’ ढुंगानाले भने, ‘यी समस्याहरु कसरी समाधान गर्ने र अघि बढ्ने भन्ने विषयमा हामीले सल्लाह गर्न खोजेका हौं।’ उनले अहिलेकै अवस्थामा देश नचल्ने भन्दै त्यसका लागि के गर्ने भनेर सभापतिसँग भेट गरेको बताए।

प्रकाशमान सिंहको सयोजनमा बिहीबार २७ जना केन्द्रीय सदस्यको भेलाले निर्णय प्रक्रिया एकपक्षीय भएमा पार्टीलाई कमजोर बनाउने भन्दै सभापति देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

शुक्रबार भने नेता सिंहको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, डा मिनेन्द्र रिजाल लगायतका नेता बुढानिलकण्ठस्थित सभापति देउवाको निवास पुगेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !