२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाको आठौँ अधिवेशन असार १७ गते आह्वान


राष्ट्रिय सभा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेकी छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएंको थियो ।

सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्काे अधिवेशन प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भए पनि हाल सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छन् ।

हाल राष्ट्रियसभामा नेकपा(एमाले), नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषद्बाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत छन् ।

पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे (लुम्बिनी, कांग्रेस) अधिवेशनम नयाँ प्रवेशी हुनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !