८ जेष्ठ २०८१, मंगलबार

सरकार तत्काल नढल्ने, प्रचण्ड पछि हटे


Prachanda-vs-kp-ol

काठमाडौँः केपी ओली नेतृत्वको सरकार तत्काल नढल्ने भएको छ । सत्तारुढ एमाले–एमाओवादीले यो सरकार कम्तिमा नीति तथा कार्यक्रम प्रस्तुत नहुँदासम्म कायमै रहने सहमति गरेका छन् ।
बिहीबार बिहान नेपाली कांग्रेस र एकीकृत माओवादीका नेताबीचको भेटपछि बसेको एमाले–एमाओवादी बैठकले यस्तो सहमति जुटाएको हो ।

बुधबार आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस सहमत भएको भन्दै बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड रातारात आफ्नो निर्णयबाट पछि हटेपछि ओली सरकार कायमै रहने संकेत देखिएको हो ।

बिहीबार बिहान बिमलेन्द्र नीधि र अमरेशकुमार सिंहलाई लिएर लाजिम्पाट पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल ओली सरकार दिएको समर्थनबाट आफू पछि हट्न अप्ठेरो परेको बताएका छन् ।

देउवाले आफूले समर्थन गरिसकेकाले सरकार गठन अघि बढाउन गरेको प्रस्तावमाथि भएको छलफल सकारात्मक निचोडमा नपुगेपछि तत्काल ओली सरकार ढाल्ने कांग्रेसको योजना असफल हुने देखिएको छ ।

करिब ४५ मिनेटलामो भेटवार्ताका क्रममा देउवाले नयाँ सरकार गठनका लागि ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्न अग्रह गरेका थिए । देउवाको उक्त प्रस्तावले संसदमा संकट आइपर्ने भन्दै दाहालले अस्वीकार गरेका हुन् ।

दाहालले प्रस्तावले संसदमा झडप हुने सम्मको अवस्था सिर्जना हुने भएकाले त्यो बाटोबाट अगाडि नबढ्नु उपयुक्त हुने तर्क गरे ।

भेटका क्रममा देउवाले ओली सरकार विरुद्ध अविश्वासको प्रस्ताव आफैँले नल्याउने बताउँदै त्यसका लागि प्रचण्डलाई अघि सर्न आग्रह गरे ।

स्रोतका अनुसार प्रचण्डले यो निर्णयका कारण देश राजनीतिक अस्थिरतातर्फ जाने र त्यसको दोषी पनि आफैँ हुनुपर्ने भन्दै देउवाको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रचण्डले देउवाको प्रस्ताव अस्वीकार गरेपछि ओली नेतृत्वको सरकारले कम्तिमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउने भएको छ ।

कांग्रेस र एकीकृत माओवादी नेताको बिहिबारको भेटवार्ताले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने बुधबारको एमाओवादीको औपचारिक निर्णयपछि सुरु भएको सत्ता परिवर्तनको खेल तत्कालका लागि समाप्त भएको छ ।
माओवादीले सत्तारुढ दललाई प्रचण्डको नेतृत्वमा गठन हुने सरकारमा सहयोगर्न आग्रह गरेको थियो ।

पार्टीको उक्त निर्णय बोकेर प्रचण्ड बालुवाटार पुगेपछि सत्ता परिवर्तनको चर्चाले बुधबार दिनभर राजनीतिक भेटघाट चर्किएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा शितलनिवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराएका थिए ।
बजेट ल्याउन दिए यही गठबन्धनको प्रधानमन्त्री प्रचण्ड : ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !