२२ बैशाख २०८१, शनिबार

एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधिलाई पदमुक्त गर्ने माओवादीको निर्णय


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा फाइल फोटो

काठमाडौँ । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । सोमबार भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता दिएको हो ।

स्रोतका अनुसार माओवादी केन्द्रबाट चुनाव जितेका र पछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

एमालेमा लागेका कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साह,उपप्रमुख गौरीशंकर जयसवाल,लाहान नगरपालिका सदस्य सतहीलाल दास,यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साह,माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साह,फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्तिदेवी साह, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी,चम्पादेवी गाउपालिका १, ओखलढुंगा वडा अध्यक्ष सुरेश कुमार थापा, भजनी नगरपालिका कैलाली उपप्रमुख छायाँ देवकोटा, सम्सी गाउपालिका महोत्तरी अध्यक्ष शेख थारु,गौरीगन्जा नगरपालिका ४ कैलाली वडा अध्यक्ष भागिरथी विष्ट, गोदावरी नगरपालिका १ कैलाली वडा अध्यक्ष परमानन्द भटट, वर्धगोरिया नगरपालिका ४ कैलाली वडा अध्यक्ष पुरन विसि, लाई पार्टीबाट निष्कासन गरेको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !