९ जेष्ठ २०८१, बुधबार

बजेट ल्याउन दिए यही गठबन्धनको प्रधानमन्त्री प्रचण्ड : ओली


prachanda-and-kp-oli

बुधबार साँझ सत्ताका दुई प्रमुख घटक नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अहिलेकै सत्तारुढ गठबन्धनको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्।

बैठकमा उपस्थित एक नेताका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने, ‘तपाईंहरू नै संलग्न भएको मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पेश गर्ने मिति घोषणा गरेको छ। जेठ १५ मा बजेट ल्याउने तय गरेको छ, यसलाई पूरा गरौं, त्यसपछि तपाईं नै यो सत्तारुढ गठबन्धनको प्रधानमन्त्री बन्नुहोस्।’

राष्ट्रियताको संरक्षण गर्नका लागि पनि यो गठबन्धन टिकाइराख्न आवश्यक भएकोल तपाईं गठबन्धन छोडेर नजानुस् भन्दै ओलीले भने, ‘बजेट आएपछि एमालेकै प्रस्तावमा तपाईंलाई प्रधानमन्त्री बनाउँछौं।’

ओलीले प्रचण्ड नै उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष भएका नाताले संयन्त्रको बैठक बोलाएर गठबन्धन पार्टीबीचका विषयहरू छलफल गर्नुपर्नेमा त्यसोे नगरेको भन्दै गुनासो पोखे। उनले भने, ‘संयन्त्रको बैठक बोलाउनुस्, त्यो बैठकले जे निर्णय गर्छ त्यो म मान्न तयार छु।’

एमाओवादी नेताहरूले भने कांग्रेसको समर्थनमा आफूले सरकारको नेतृत्व गर्ने सहमति बनेकाले एमालेले पनि आफूलाई समर्थन गरेर राष्ट्रिय सरकारमा आउन अनुरोध गरेको एक नेताले बताए।

‘उहाँहरूले कांग्रेसलाई सरकारमा नल्याई अहिलेको समस्या समाधान हुँदैन भन्ने तर्क गर्नुभयो,’ एक नेताले भने।

तर बैठकमा उपस्थित एमाअोवादीका एक नेताले भने त्यस्तो प्रष्ट प्रस्ताव नअाएको बताए।

बालुवाटारमा भएको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापालगात अन्य सत्तारुढ दलका नेताहरूको पनि उपस्थिति थियो। तर एमाओवादीले एमालेसँग मात्रै छलफल गर्ने बताएपछि एमाले र एमाओवादी नेताहरूबीच बैठक बस्यो।

एमाओवादीका तर्फबाट बैठकमा अध्यक्ष दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र टोपबहादुर रायमाझी उपस्थित थिए। एमालेका तर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम र अर्थमन्त्री विष्णु पौडेल उपस्थित थिए। नेपाल बैठकको बीचमा उठेर निवास गएका थिए। प्रधानमन्त्रीले बिहीबार विहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रचण्डको नेतृत्वमा सरकार बनाउने एमाओवादीको औपचारिक निर्णय
सरकार गिराउने खेल सुरू भएको एमालेको निष्कर्ष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !