७ बैशाख २०८१, शुक्रबार

कोटेश्वरमा नेपाल, देउवा र प्रचण्ड बैठक : ७ महत्वपूर्ण विषयमा छलफल


देउवा, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपाल, नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच नेपालको निवास कोटेश्वरमा ७ महत्वपूर्ण विषयमा गम्भीर छलफल भएको छ ।

देउवा महामन्त्री पूर्णबहादुर खड्कासाथ कोटेश्वर पुगेका थिए । यस्तै देउवा पुगेको केही समयपछि माओवादी अध्यक्ष प्रचण्ड पनि नेपाल निवास पुगेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच बेलुकी साढे ६ बजेदेखि राती ८ बजेसम्म डेढ घण्टा छलफल भएको थियो ।

यसअघि विपक्षी गठबन्धनको छलफलमा काँग्रेस सभापति देउवा निवास बुढानिलकण्ठ हुने गर्दथ्यो । नेता नेपाल र प्रचण्ड देउवा निवास बुढानिलकण्ठ नै जाने गर्दथे । आजवाट नेपाल निवास कोटेश्वरमा पनि बैठक बस्न थालेको छ । अहिले विपक्षी गठबन्धनको निर्णायक शक्ति माधव नेपाल भएका छन् ।

आज तीन शीर्ष नेताहरुवीच भएको भेटवार्तामा गठबन्धनलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसबारेमा सतर्क हुने विषयमा छलफल भएको बुझिएको छ । संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने भन्दै गठबन्धनलाई कमजोर पार्ने प्रयासहरु हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा नेताहरु सहमत भएको छलफलमा सहभागी काँग्रेस महामन्त्री समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए ।

महामन्त्री खड्काका अनुसार गठबन्धनलाई अझ दृढ बनाउँदै लैजाने तथा आपसमा शंका उपशंका उत्पन्न गराउने प्रयास हुनसक्ने भएकाले त्यसमा सतर्क हुनुपर्ने कुरामा नेताहरु केन्द्रीत भएर नेताहरुबीच समिक्षा भएको थियो । त्यस्तै उनीहरुबीच संवैधानिक अंगहरूमा सत्ताको प्रभावका बारेमा समेत सचेत रहँदै खबरदारी गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

आज भएको भएको भेटघाटमा अदालतमा विचाराधिन मुद्धा प्रभाव पार्ने प्रकृतिको क्रियाकलापमा सरकारको संलग्नतादेखि विपन्न वर्गका लागि कोरोना राहत प्याकेज घोषणा गर्न माग गर्नेसम्मको विषयमा छलफल भएको बुझिएको छ ।

यी हुन् कोटेश्वरमा तीन शीर्ष नेताहरुवीच भएको छलफलका ७ महत्वपूर्ण विषयहरु

१. तीन पूर्वप्रधानमन्त्रीहरुवीच समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा ।

२. तीन शीर्ष नेताहरुबीच वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्ने कुरामा पुनः स्पष्टता र छलफल ।

३. तीन पूर्वप्रधानमन्त्रीहरुवीच आपसी सम्बन्धबारे छलफलका साथै एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता जाहेर ।

४. तीन शीर्ष नेताहरुबीच कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउन माग ।

५. तीन पूर्वप्रधानमन्त्रीहरुवीच अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल, अदालतको निष्पक्षतामा विश्वास, प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण ।

६. तीन शीर्ष नेताहरुबीच राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा आशंका, निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण ।

७. तीन पूर्वप्रधानमन्त्रीवीच भएको छलफलमा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना !

यो पनि पढ्नुहोस्

माधव नेपाल निवास कोटेश्वरमा देउवा र प्रचण्ड


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !