८ जेष्ठ २०८१, मंगलबार

विपक्षी गठबन्धनका ३१ सांसद गण्डकी प्रदेश प्रमुख निवास अगाडि धर्नामा


विपक्षी गठबन्धनका ३१ सांसद गण्डकी प्रदेश प्रमुख निवास अगाडि धर्नामा

पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिँएसँगै विपक्षी गठबन्धनका ३१ जना सांसद प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि धर्नामा बसेका छन् ।

नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसद धर्नामा बसेका हुन् । उनीहरूले मुख्यमन्त्री गुरुङले गरेको दाबी असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् ।

मुख्यमन्त्री गुरुङले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य र जनमोर्चाले कारबाही गरेका कृष्ण थापाको हस्ताक्षरसहित पत्र प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष बुझाएका थिए । कृष्ण थापालाई शुक्रबार मात्रै सभामुख नेत्रनाथ अधिकारीले पदमुक्त भएको प्रदेश सभामा घोषणा गरेका थिए।

शुक्रबार विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले ३१ सांसदको हस्ताक्षर सहित दाबी पेश गरेका थिए । कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद प्रदेश प्रमुखको निवासमै पुगेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव पेश गरेको र सभामा निर्णायार्थ पेश गर्दा पक्षमा २७ र विपक्षमा ३० मत प्राप्त भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका थिए ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य रहेकामा विश्वासको मतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दथ्यो । बैठकमा ५८ प्रदेशसभा सदस्य उपस्थित भएकामा मतदान प्रक्रियामा ५७ जना सहभागी हुनाका साथै १ जना तटस्थ रहे । मनाङ, प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित तत्कालिन युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ मतदान प्रक्रियामा अनुपस्थित भएका थिए ।

गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि आज २९ गते शनिबार अपराह्न ३ बजेसम्मको समयसीमा दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !