२३ बैशाख २०८१, आइतबार

अन्तत: नरोत्तमले झुकेर माफी मागे, आफ्नो भनाइ रेकर्डबाटै हटाउन गरे आग्रह


नरोत्तम वैद्य

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नरोत्तम आफूले बोलेका अभिव्यक्ति गलत भएको स्वीकार गर्दै माफी मागेका छन् ।

आज शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताएका छन् ।

वैद्यले लिखित आत्मालोचना गर्दै आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् । उनले अभिव्यक्ति दिएपछि आफूले पनि संसदीय मर्यादा बाहिर गएर बोलेको महसुस गरेको बताए ।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् ।

प्रदेशसभा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति आत्मालोचनासहित फिर्ता लिएका हुन् । ‘असाध्यै आवेगमा र भावावेशमा आएर मैले आफ्ना कुरा पोख्ने सिलसिलामा आवश्यकता भन्दा बढि नै स्वतन्त्रताको उपयोग गरेछु। यो मैले फिल गरेँ’, उनले भने।

‘मैले संसदको रोष्टममा उभिएर आफ्नो प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री ज्यूप्रति लक्षित गर्दै मबाट प्रयोग भएका शब्दहरु आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन आग्रह गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गर्दै, शान्तिपूर्ण राजनीतिकाे शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भन्ने कुरालाई आत्मसाथ गर्दै हिंसाबाट शान्ति पूर्ण रुपान्तरणका लागि अरु राजनीतिक दलहरुलाई समेत प्रेरित गर्दै संयोजन गरेको दलको एक सिपाहीको नाताले आफूले बोलेको उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन माननीय सभामुखसमक्ष हार्दिक अनुरोध गर्दछु।’

वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गरे । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन् ।

हिजो शुक्रबार बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउनकै लागि देशघाती सम्झौता गरिरहेको जनाउँदै हाल नाथुराम गोड्से जस्ता व्यक्तिको आवश्यकता रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै भनेका थिए, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुर्पयो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

बैद्यले प्रधानमन्त्री ओलीको ज्यान लिनुपर्ने भनी दिएको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई संसदीय मर्यादाको समेत ख्याल नगरी सांसदले दिएको अभिव्यक्ति खेदजनक छ । महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदाहरण दिँदै उनले देशको प्रधानमन्त्रीको हत्या गर्न तयार छु भन्नु क्षमायोग्य छैन । उनलाई हदैसम्मको कारबाही हुन जरुरी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !