१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चको आदेशपछि देउवाको प्रधानमन्त्री बन्ने सपना चकनाचुर, लागे पार्टीको महाधिवेशन गर्नेतर्फ


शेरबहादुर देउवा

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा अन्तरिम आदेश नदिएपछि नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने सपना तत्कालको लागि चकनाचुर भएपछि देउवा पार्टीको १४ औं महाधिवेशन भदौ महिनामै गर्नेतर्फ तातेका छन् ।

प्रधानमन्त्री भईहालिन्छ कि भनेर पार्टीको महाधिवेशन गर्नेतर्फ आलटाल गर्दै आएका देउवाको प्रधानमन्त्री बन्ने चाहना पूरा नहुने संकेत देखेपछि आज बुधबार एक वक्तव्य जारी गर्दै पार्टीका आम नेताहरु तथा कार्यकर्ताहरुलाई भदौ महिनामा नै पार्टीको महाधिवेशन हुने स्पष्ट जानकारी दिएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज बुधबार प्रारम्भिक सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधामन्त्री केपी शर्मा ओली लगायतका विपक्षीसँग कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले असार ९ गतेदेखि निरन्तर सुनुवाइ गरिने बताएका हुन् ।

प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथग्रहण गराउन परमादेश तथा अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

देउवाले सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएकोमा सरकार पूर्ण रुपले दोषी भएको आरोप समेत लगाएका छन् । उनले देशभरिका पार्टीका सम्पूर्ण नेता-कार्यकर्ताहरुलाई स्पष्टताका साथ २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुने र आफू यसमा पूर्ण प्रतिवद्ध भएको बताएका छन् ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएकोले पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको भन्दै उनले महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफू सुनेको बताएका छन् ।

उनले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित नभएको भन्दै महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्नु नहुने चेतावनी समेत दिएका छन् ।

बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य भएकोले यसका लागि सबै जिम्मेवार हुनु पर्दछ भन्दै अब बढी समय नभएकोले आषाढ र श्रावण दुई महिना भित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नका लागि पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नला लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेकाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताएका छन् ।

उनले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमितिका साथीहरु, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरु, विदेश स्थित जनसम्पर्क समितिका साथीहरुलाई नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरी आ-आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भई लाग्न आह्वान गर्दै कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न समेत अनुरोध गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !