१९ बैशाख २०८१, बुधबार

सरकार गिराउने खेल सुरू भएको एमालेको निष्कर्ष


uml meeting

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठक सकिएको छ। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकार गिराउने खेल सुरू भएको निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी नेताहरूका अनुसार बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव आउनुलाई एमालेले सरकार गिराउने खेलको रुपमा बुझेको बताएका छन्। कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि दाहालले एमालेको धारणा मागेका थिए।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बसेको बैठकले सत्ता समर्थित कुनै राजनीतिक दलले समर्थन फिर्ता लिनसक्ने सम्भावना बलियो रहेको पनि निष्कर्ष निकालेको छ। ‘प्रधानमन्त्रीको प्रस्ताव आएको दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिनसक्ने सम्भावना बलियो रहेको बैठकले निर्क्यौल गरेको छ,’ बैठकमा सहभागी एक नेताले सेतोपाटीसँग भने।

विकसित राजनीतिक घटनाक्रमबारे सुझबुझपूर्ण निर्णयसाथ अगाडि बढ्ने बैठकमा प्रधानमन्त्री ओलीले बताएका थिए। सरकारबाट बाहिरिनु परे पनि आवेग र उत्तेजनामा निर्णय गरिनहाल्ने आशय प्रधानमन्त्री ओलीले व्यक्त गरेको स्रोतले बतायो।

संविधान कार्यान्वयन, नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला सरकार असफल पार्ने खेल भइरहेकाले सचेत र सजग रहनुपर्ने प्रधानमन्त्री ओलीले बैठकमा बताएका थिए। ‘सरकारबाटै बाहिरिनुपरे पनि आवेग, उत्तेजना हैन, राष्ट्रको दीर्घकालीन हित मध्यनजर गरेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

बैठकमा सहभागी नेता गोकर्ण विष्टका अनुसार प्रधानमन्त्री ओलीले सत्ताभित्र तथा बाहिर रहेका राजनीतिक दलसँग संवाद गरेर न्यूनतम् सहमति निकाल्ने प्रयास गरिने बताएका छन्। ‘सबै कामलाई अगाडि बढाउन आजको सन्दर्भमा सबै दलसँग न्यूनतम सहमति हुन जरुरी छ। ‘सबै कार्यभार पूरा गर्न न्यूनतम सहमति कायम गर्दै अहिले विकसित राजनीतिक घटनाक्रमबारे एमालेले भूमिका खेल्नेछ,’ ओलीले भने।

‘एमालेले नीति कार्यक्रम र बजेट तयारी गरिरहेका बेला बाहिर जुन किसिमको अस्थिरताको चक्र घुमिरहेको छ, त्यसले दीर्घकालीन राजनीतिक अस्थिरता पैदा गर्नेछ,’ विष्टले भने, ‘यसले समग्र पक्षलाई नकारात्मक प्रभाव पार्ने हामी सबैको निष्कर्ष छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !