९ जेष्ठ २०८१, बुधबार

एकीकृत माओवादीभित्र सरकारको विकल्प खोज्न दबाब


parliament nepal

एमाओवादी संसदीय दलको कार्यालयमा मंगलबार बसेको पार्टीका सांसद र केही पदाधिकारीको बैठकमा नेताहरूले प्रधानमन्त्री केपी ओलीको नेतृत्व ‘पूर्णरूपमा असफल भएको’ भन्दै विकल्प खोज्न पार्टी नेतृत्वलाई दिएका हुन् ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहालले नाकाबन्दीका बेला सरकारले केही गर्न नसक्नु तत्कालका लागि क्षम्य भए पनि अहिलेको निष्क्रियता अनपेक्षित रहेको बताए । ‘सरकारबारे व्यापक जनगुनासो छ, हिजो नाकाबन्दी हुँदा सरकारका पक्षमा जनताको भावना देखियो, तर अब क्षम्य हुँदैन,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसबारे राजनीतिक नेतृत्व तहमा समीक्षा हुन थालेको छ ।’

सांसदहरूले संविधान कार्यान्वयनमा प्रगति हुन नसकेको, सरकार दलीय साझेदारीको भावनामा नभई एकलौटी चलेको, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा नगरेको बताए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुनसहित पदाधिकारी र सांसद उपस्थित बैठकका अधिकांश वक्ताले सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, असन्तुष्ट पक्षसँगको वार्तामा उदासीनताबारे प्रश्न उठाएको बैठक स्रोतले जनायो । एमाओवादी सचिव पुनले ओली नेतृत्वको सरकारमा रहनुपर्ने औचित्य सकिइसकेको भन्दै अध्यक्ष दाहालले ‘हुन्छ’ भने तुरुन्तै विकल्प खोज्ने बताए ।

‘सरकारको विकल्प खोज्न चारैतिरबाट दबाब छ । हामी ठूला–साना सबै दलसित एकैसाथ छलफलमा छौं,’ पुनले भने, ‘अध्यक्षले यस् भन्नुभयो भने उचित विकल्प खोजिनेछ ।’ ओलीलाई कार्यशैली सुधार्न आफूहरूले पटक–पटक भने पनि सुनुवाइ नभएको, सरकार आफ्नो एजेन्डामा असफल भइसकेको हुनाले विकल्प खोज्न आफूहरू बाध्य भएको पुनले बताए । सरकार बदल्न सकिने अवस्था आए आगामी नेतृत्व कसको हुने भन्नेमा आफूहरू खुला भएर छलफल गर्न तयार भएको उनको भनाइ थियो ।

‘केपी ओली असफल भइसके, त्यसैले अब सरकारको विकल्प खोज्ने बेला आयो, भूकम्पको क्षति, पुनर्निर्माणमा सरकारको गति सुस्त देखियो भन्नेमा अधिकांश सांसदको जोड रह्यो,’ संसदीय दलको बैठकका सहभागीलाई उद्धृत गर्दै एमाओवादी सांसद श्रीप्रसाद जवेगुले भने, ‘संविधान कार्यान्वयनका लागि मधेसी र जनजाति दलसँग वार्तामा सरकारको चासो नहुनुजस्ता कुराले विकल्प खोज्न हामी बाध्य भएका हौं ।’ अध्यक्ष दाहालले यसबारे औपचारिक प्रतिक्रिया नदिएको, सबैले बोलिसकेपछि जवाफ दिने जवेगुले जानकारी दिए ।

सांसदहरूले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पनि बस्ने बताइएको छ ।

सोमबार साँझ महासचिव कृष्णबहादुर महराको निवासमा अध्यक्ष दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत केही उच्च नेता भेटेर सरकारको विकल्पबारे गम्भीर छलफल चलाएको एमाओवादी स्रोतले जानकारी दियो । उक्त भेटमा उपाध्यक्ष श्रेष्ठ र महासचिव महराले सत्यनिरूपण तथा मेलमिलाप आयोगमा छिनोफानो हुनुपर्ने मुद्दामा न्यायालयले हस्तक्षेप गर्दासमेत प्रधानमन्त्री ओली मूकदर्शक बनेको, नाकाबन्दी खुलिसक्दा पनि जनजीवन सहज हुनुपर्नेमा उल्टै कालाबजारियाको कब्जामा देश गएको भन्दै अध्यक्ष दाहाललाई विकल्प सोच्न दबाब दिएका थिए ।

यसअघि सोमबार विराटनगरमा आयोजित मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको पहिलो महाधिवेशनमा बोल्ने क्रममा पनि दाहालले सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै ओलीको आलोचना गरेका थिए । अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा मंगलबार बिहान भएको पार्टी पदाधिकारीह छलफलमा पनि उपाध्यक्ष श्रेष्ठ, महासचिव महरा, सचिव पुन, नेता जनार्दन शर्मालगायतले ओलीको नेतृत्वमाथि प्रश्नैप्रश्न उठाए । उनीहरूले बोलिसकेपछि अध्यक्ष दाहालले सरकारको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठेको आफूले समेत महसुुस गरिरहेको भन्दै ‘सोचविचार गरेर जवाफ दिने’ बताएका थिए । यसअघि शुक्रबार सकिएको एमाओवादी स्थायी समितिको दुईदिने बैठकले राष्ट्रिय सहमतिका लागि ओलीले ‘पर्याप्त गृहकार्य नगरेको’ निष्कर्ष निकालेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु