१४ बैशाख २०८१, शुक्रबार

तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर : सभापति देउवा


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन् । आज बेलुकी एक व्यक्तव्य जारी गर्दै सभापति देउवाले चुरे दोहन गरेर पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै भएको टिप्पणी समेत गरेका छन् ।

उनले अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीतिलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको बताएका छन् ।

विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिंदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू-क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएकोमा विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती नभएर प्रकृति विरुद्धको अपराध र देशको तराई-मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भएको देउवाले आरोप लागेका छन् ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले ‘राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको उनले स्मरण समेत गरेका छन् ।

उनले त्यो समयमा ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएकोमा सो नीति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको ब्यापार गर्न घर जलाए जस्तो’ मात्रै भएको उनले स्पष्ट पारेका छन् ।

देउवाले निश्चय नै देशले वर्षौदेखि ब्यापार घाटा ब्यहोरिरहेतापनि त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई-मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन नसक्ने भन्दै यो नै उचित विकल्प बताएका छन् ।

अन्तयमा देउवाले नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम भएको उनले बताएका छन् ।
तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर : सभापति देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !