८ जेष्ठ २०८१, मंगलबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार


prachanda

२१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार देखिएको छ ।व्यवस्थापिका संसदको अधिवेशन मंगलबारदेखि सुरु भएको अवस्थामा यो बजेट अधिवेशन नै भएता पनि पहिले नयाँ सरकार बनाउने प्रयास कांग्रेसले थालेको छ ।

कांग्रेसले आफ्नो नेतृत्वमा सहमति नजुटे एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि तत्कालै नयाँ सरकार बनाउने निष्कर्ष निकालेको छ ।

शेरबहादुर देउवा कांग्रेस सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि राजनीतिक वृत्तमा उनी आफैं प्रधानमन्त्री बन्न चाहन्छन् भन्ने । तर, गठबन्धन सरकार चलाउन माहिर देउवा महत्वपूर्ण मन्त्रालय लिएर प्रधानमन्त्री छाड्न तयार देखिएका छन् ।

सम्भवतः अबको केही दिनमा नै देउवाले नयाँ सरकार गठनबारे एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नेछन् र प्रधानमन्त्रीको अफर गर्नेछन् ।
एमाओवादी पनि केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति सन्तुष्ट छैन । सरकार हरेक मोर्चामा असफल भएको उसलाई लागेको छ तर, कांग्रेसको नेतृत्वमा सरकार बनाउन चाहेको छैन ।

त्यस्तोमा देउवाको प्रस्तावले प्रचण्डलाई सहजै आकर्षण गर्ने अनुमान छ ।

तर, त्यसअघि प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई वामपन्थीहरुको सरकार नै चलाउने हो भने अब मलाई प्रधानमन्त्री बनाउनुस् भन्नेछन् । किनकि अहिलेसम्म एमाओवादीले एमालेलाई धेरैपटक प्रधानमन्त्री बनाएको छ । तर, एमालेले छैन ।

कांग्रेसलाई सरकार छाड्नुभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा ओली सहजै तयार हुने अवस्था रहेको एमाओवादीका एक नेताले बताए । त्यस्तो अवस्थामा प्रचण्डको नेतृत्वमा कांग्रेस र मधेसीवादी दलहरुको सरकार गठनको प्रयास हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !