१४ बैशाख २०८१, शुक्रबार

ओलीको उपादेयता सकिएपछि नयाँ खिलराजहरुको अभ्यास हुनेछ : घनश्याम भुसाल

घनश्याम भुसाल भन्छन्, 'मुलुकलार्ई फेरि नयाँ संविधानको कोर्समा धकेलिनेछ'


घनश्याम भुसाल,

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको उपादेयता सकिएपछि नयाँ खिलराजहरुको अभ्यास हुने पोहोर सालको बैसाख ८ गते दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले आफूलाई भनेको खुलासा गरेका छन् ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सामाजिक संजाल फेसबुकमा शुभकामनामार्फत स्पष्टीकरण दिंदै उनले देशमा घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै गरेको बताएका छन् । उनले अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएकोमा एउटा सांसदको हिसाबले हेर्दा आफूबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गरेका छन् ।

उनले हाम्रो संविधान र राजनीतिका लागि आफूले संसदीय मर्यादा उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँको स्पष्ट पार्दै आफ्नो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने लाखौँ नेपालीको रगतपसिना बगेर आएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा भएकोले स्पष्टीकरण दिएका छन् ।

उनले लेखेका छन्, ‘म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए : नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !