२० बैशाख २०८१, बिहिबार

सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी


सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक जारी

धनगढी । सुदूरपश्चिम प्रदेशको नेकपा एमाले संसदीय दलको बैठक जारी रहेको छ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि संसदीय दलको कार्यालय धनगढीमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटीको बैठकले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् । माधव पक्षका प्रदेशसभा सदस्यको संख्या बढि भएकाले संसदीय दलको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने सम्भावना देखिएको छ।

जारी बैठकमा सभामुख अर्जुन थापा बाहेक एमालेका २४ जनामध्ये २१ सांसद उपस्थित छन् । माधव नेपाल पक्षका १८ र केपी शर्मा ओली पक्षका तीन जना प्रदेश सभा सदस्य उपस्थित भएका हुन् ।

हिजो मंगलबार बैठक बोलाइएतापनि सांसदहरुको आवश्यक संख्या नपुगेपछि औपचारिक रुपमा बस्न सकेको थिएन । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बैठक जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !