२१ बैशाख २०८१, शुक्रबार

झलनाथ र माधवसहित ११ जना नेताहरु एमालेवाट निष्काशित


माधव नेपाल र झलनाथ खनाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरिएको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरिएको हो ।

निष्कासनमा पर्नेमा समानुपातिकतर्फवाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत रहेका छन् ।

आज बसेको बैठकमा पार्टीको आन्तरिक विवाद, बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रित भएको थियो । शनिवार ८ गते बसेको स्थायी कमिटी बैठकले माधव नेपाल समूहका विघटित प्रतिनिधिसभाका ११ जना सांसदसँग स्पष्टीकरण माग गरेको थियो ।

स्पष्टीकरण बुझाउन भनेर दिइएको समयसीमामा जवाफ नबुझाएपछि स्थायी कमिटीको बैठकले उनीहरुमाथि कडा कारवाही गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।

शनिवार बसेको स्थायी कमिटी बैठकले आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप उनीहरुलाई लगाउदै स्पष्टीकरण सोधिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !