२१ बैशाख २०८१, शुक्रबार

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।

यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । नेता नेपालले अध्यक्ष ओलीले धकेलेर फुटको दिशामा पुर्याएको र अर्को पार्टी खोल्न बाध्य पारेको बताएका छन् ।

आजको आन्तिपुर दैनिकले लिएको अन्तर्वार्तामा नेता नेपालले भनेका छन्- ‘ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।’

नेपालले भने, ‘प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र  ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।’

लोकतन्त्र जोगाए मात्र कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने नेता नेपालको भनाई छ । उनले प्रश्न गर्दै भने, ‘लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?’

‘हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु !’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !