२१ बैशाख २०८१, शुक्रबार

पर्याप्त समय छ, चुनाव गर्न सक्छौँ : निर्वाचन आयोग


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले सरकारले तोकेको समय पर्याप्त भएकोले चुनाव गर्न सकिने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् ।

आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जटिल समयका बावजुद पनि घोषित मितिमा निर्वाचन गर्न सक्ने आधारहरू के के छन् भन्दै जिज्ञासा राख्दा आयोग तयारी अवस्थामा रहेको बताएका थिए । महामारीको समय भए पनि त्यसलाई ध्यानमा राखेर नै निर्वाचनको तयारी गर्ने उनले बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियासहित अन्य आयुक्तलाई बालुवाटारमा नै बोलाएर भएको छलफलमा प्रमुख आयुक्तको धारणा पछि सरकार उत्साहित भएको छ । मुलुुकलाई यतिबेला निर्वाचन नै अपरिहार्य भएकाले समयमा निर्वाचन आवश्यक धारणा ओलीले राखेको र मुलुक अब निर्वाचनमा गएको भन्दै सबै पक्ष उत्तिकै सक्रिय रहनुपर्नेमा जोड दिएका हुन् ।

निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो । २०७४ सालमा ९५ दिनभित्रै निर्वाचन गराएको अनुभव समेत भएकोले निर्वाचन आयोगका आयोगले कानुनी रुपमा हेर्दा सरकारले तोकेको निर्वाचन समय पर्याप्त भएको बताएको हो ।

प्रधानमन्त्री ओलीले कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापन लगायतका सबै तयारी गर्न आग्रह गर्दै त्यसमा सरकारको पूर्ण साथ रहने बताएका थिए । यद्यपि निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नुपर्ने जानकारी आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गराएका थिए ।

केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरु दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !