१९ बैशाख २०८१, बुधबार

राष्ट्रपतिद्वारा संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा (संसद) विघटन गरी २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरणको निर्वाचन र मंसिर ३ गते ३ गते शुक्रबार दोस्रो चरणको मध्यावधि निर्वाचन घोषणा गरेकी छन् ।

आज मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ गते र मंसिर ३ गते गरी दुई चरणमा चुनाव गर्न सिफारिससमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् ।

संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेपछि राष्ट्रपतिले संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव को घोषणा गरेकी हुन् । संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको हो ।

धारा ७६(७) मा भनिएको छ, ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

यस्तो छ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।

राष्ट्रपतिद्वारा संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !