२४ बैशाख २०८१, सोमबार

उपप्रधानमन्त्री नेतृत्वको सीसीएमसी खारेज, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति रहने


सीसीएमसी बैठक फाइल फोटो

काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई खारेज गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिको भूमिका खुम्चिएको छ ।

आज शुक्रबारबाट लागु हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन भएकाले सीसीएमसी खारेज भएको हो । अघिल्लो बर्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सीसीएमसी गठन भएको थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ मा निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने उल्लेख छ ।

हालसम्म सीसीएमसीको संयोजकको हैसियतमा अध्यक्षता गरिरहेका उपप्रधानमन्त्री पोखरेल भने अब निर्देशक समितिको सदस्य मात्र रहनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेकी थिइन् ।

उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्रमन्त्री निर्देशक समितिको सदस्य रहने व्यवस्था अध्यादेशमा छ । समितिमा सरकारका मुख्य सचिव र प्रधानसेनापति पनि सदस्य रहनेछन् भने सीसीएमसीका प्रमुख सदस्य सचिव रहने भनिएको छ ।

संघीय सरकार, प्रदेश र स्थानीय तहको भूमिका निर्धारणको अधिकार पनि समितिलाई नै दिइएको छ । समितिले कोरोना भाइरस रोकथाम, नियन्त्रण, निदान र उपचारसँग सम्बन्धित जुनसुकै निकाय, संस्था वा पदाधिकारीलाई आवश्यक निर्देशन दिनसक्ने पनि भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !