४ जेष्ठ २०८१, शुक्रबार

जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो ।

नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उनलाई समर्थन जनाउने निर्णय गरेको जानकारी दिए । “हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उनले भने ।

बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।

जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइसकेका छन् । विपक्षी गठनधनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बहुमतको दावी गर्दै राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !